सुर्खेत । प्राकृतिक विपद्को उच्च जोखिममा रहेको सुर्खेत जिल्लाका सबै नौ वटै स्थानीय तहहरूले अब एकापसमा ‘स्रोत साझेदारी’ गरेर विपद्को सामना गर्ने भएका छन्। मंगलबार वीरेन्द्रनगरमा आयोजित एक विशेष कार्यशालामा पालिका प्रमुखहरूबीच मौसमी प्रकोपको पूर्वतयारी र प्रतिकार्यका लागि उपलब्ध मानवीय, आर्थिक तथा प्राविधिक स्रोत साधनहरू सामूहिक रूपमा परिचालन गर्ने ऐतिहासिक समझदारी भएको हो।
यो सहकार्यले कुनै एक पालिकामा विपद् पर्दा छिमेकी पालिकाहरू ‘मूकदर्शक’ नभई सक्रिय ‘सारथि’ बन्ने बाटो खोलेको छ। यो साझेदारीलाई जग हसाउने काम मात्र नभई कानुनी रूपमै बलियो बनाउन ‘आपत्कालीन सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८२’ तयार पारिएको छ। जिल्ला समन्वय समितिको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोगमा निर्माण हुन लागेको यो कार्यविधिले पालिकाहरूबीच समन्वय, सहकार्य र सहलगानीको वातावरण गर्ने, उद्धार र राहतका लागि आवश्यक उपकरण, प्रविधि र विशेषज्ञ जनशक्तिको साझा परिचालन गर्ने र एक पालिकाले सिकेका राम्रा अभ्यासहरू अर्को पालिकामा लागू गर्ने ‘लर्निङ सेयरिङ’ मोडेल गर्ने उल्लेख छ ।

कार्यशालाले यस कार्यविधिलाई अन्तिम रूप दिन र अन्तर-पालिका साझेदारीको ठोस मोडालिटी तय गर्न एक विशेष समिति समेत गठन गरेको छ। समितिले मस्यौदामाथि मिहिन अध्ययन गरी व्यावहारिक र कानुनी जटिलताहरू फुकाउने जिम्मेवारी पाएको छ।
जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले विपद्को समयमा उद्धार, राहत र पुनर्स्थापनाका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सेवा र अस्थायी आवास जस्ता आधारभूत सेवाहरूमा पालिकाहरूले एक-अर्कालाई सहयोग गर्ने अभ्यास हुँदै आएको छ। “अहिलेको प्रयास भनेको यो अभ्यासलाई थप सुदृढ, व्यवस्थित र दस्तावेजीकरण गरेर अघि बढ्नु हो,” सुनारले स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्