२०८३ वैशाख ५ , शनिबार
प्रदेशसभा

कर्णाली प्रज्ञा प्रतिष्ठान विधेयक बहुमतले पारित



सुर्खेत । कर्णाली प्रज्ञा प्रतिष्ठान विधेयक कर्णाली प्रदेशसभाबाट पारित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी नेकपाको असहमतिका बीच विधेयक बहुमतका आधारमा पारित गरिएको हो ।
कर्णाली प्रदेश सरकारले कर्णालीको कला, संस्कृति र सम्पादनको संरक्षण, संबर्धन तथा प्रबद्र्दन गर्ने उद्देश्यले कर्णाली प्रज्ञा प्रतिष्ठान विधेयक ल्याएको हो । यो विधेयकमाथि विभिन्न २५ जना प्रदेशसभा सदस्यहरुले विभिन्न विषयमा ६० वटा संशोधन प्रस्ताव हालेका थिए ।


जसका कारण थप छलफलका लागि सामाजिक विकास समितिमा विधेयक पठाइएको थियो । समितिले संशोधनकर्ता प्रदेशसभा सदस्यहरुसँग छलफल गरेर प्रतिवेदन सभामा पेश गरेको थियो । तर प्रमुख पतिपक्ष दलले भने संशोधनकर्ता प्रदेशसभासदस्यहरुसँग पर्याप्त छलफल नगरेरै समितिले प्रतिवेदन तयार पारेको भन्दै प्रतिवेदन अस्वीकार गर्दै आएका थिए । समितिको प्रतिवेदन नै पुनः थप छलफलका लागि नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीले प्रस्ताव राखेका थिए । तर सत्तापक्षले बहुमतका आधारमा प्रतिपक्षको प्रस्ताव अस्विकार गरेको थियो ।
जसका कारण बहुमतकै आधारमा प्रतिवेदनसहित विधेयक पारित भएको सभामुख नन्दा गुरुङले घोषणा गरिन् । दोस्रो कार्यकालमा पहिलो पटक बहुमतका आधारमा विधेयक पारित गरिएको हो ।

प्रकाशित मिति : २०८२ चैत १० गते मंगलबार