सुर्खेत । कर्णाली प्रदेशका सडक पूर्वाधारहरू नागरिकका लागि यात्राको माध्यम होइन, ‘यमलोकको ढोका’ जस्तै बन्दै गएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको ताजा तथ्याङ्क अनुसार, चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि फागुनसम्मको मात्र ८ महिनामा प्रदेशभर ९५ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन्। यो तथ्याङ्कले कर्णालीको सडक सुरक्षाको अवस्था कति जर्जर र डरलाग्दो छ भन्ने कुराको नाङ्गो चित्र प्रस्तुत गरेको छ।
८ महिनाको अवधिमा ९५ जनाकाे सवारी दुर्घटनामा परेर मृत्यु भएकाे छ । जसमध्ये ६७ पुरुष, १६ महिला, ८ बालक र ४ बालिका छन् । त्यस्तै प्रदेशभर १ हजार ८८ सवारी दुर्घटनामा परी ७५६ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा ४१९ पुरुष र १९४ महिलासहित बालबालिकाहरू छन्। साेही दुर्घटनामा परी ८८९ जना सामान्य घाइते भएका छन् ।
प्रहरीको अभिलेख अनुसार सबैभन्दा बढी मृत्यु कात्तिक महिनामा (१७ जना) र असोजमा (१६ जना) भएको देखिन्छ, जुन चाडबाडको समय पनि हो। पुस र मंसिरमा ११–११ जना, माघमा १४ जना र फागुनमा ८ जनाले ज्यान गुमाएका छन्। यी दुर्घटनाहरू रत्न राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग र विभिन्न कोरिडोरहरूमा घटेका हुन्।

प्रहरी नायव उपरीक्षक (DSP) हरिबहादुर बीसीका अनुसार दुर्घटनाको मुख्य जड ‘मानवीय लापर्वाही’ नै हो। तथ्याङ्कले दुर्घटनाका मुख्य कारणहरू यसरी औँल्याएको छ । जसमा पनि ५०% भन्दा बढी अर्थात (४४७ वटा) तीव्र गतिका कारण, मादक पदार्थ सेवन गरेर चलाउँदा ३३ वटा र मोबाइल फोनको प्रयोगले ३ वटा दुर्घटना भएका छन्। त्यस्तै जथाभावी ओभरटेक (१६ वटा) र चालकको अन्य प्राविधिक लापर्वाही भएकाे प्रहरीकाे तथ्यांक छ ।
गत वर्ष (२०८१) को सोही अवधिको तुलनामा यो वर्ष दुर्घटनाको सङ्ख्या र भयावहता बढेको देखिन्छ। गत वर्षभरि ९० जनाको मृत्यु भएकोमा यस वर्ष ८ महिनामै त्यो सङ्ख्या नाघेर ९५ पुगिसकेको छ। यसले के देखाउँछ भने ट्राफिक प्रहरीको सक्रियताका बाबजुद सडक इन्जिनियरिङमा सुधार नहुनु र चालकहरूमा चेतनाको अभाव हुनु मुख्य चुनौती बनेको छ।
प्रतिक्रिया दिनुहोस्