सुर्खेत । कर्णाली प्रदेशको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन र बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले विशेष सक्रियता देखाएको छ। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (SP) मुकुन्दप्रसाद रिजालले प्रदेशभरका जिल्ला ट्राफिक कार्यालय तथा अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुखहरूलाई सम्बोधन गर्दै जिम्मेवारीप्रति गम्भीर हुन निर्देशन दिनुभएको हो।

आज आयोजित एक भर्चुअल बैठकका क्रममा प्रहरी उपरीक्षक रिजालले ट्राफिक प्रहरीको मुख्य काम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउनु रहेको स्पष्ट पार्नुभयो। उहाँले कानुनले निर्दिष्ट गरेका कार्यहरूलाई दृढताका साथ कार्यान्वयन गर्न आग्रह गर्दै कुनै पनि प्रकारको गैरव्यावसायिक आचरण र व्यवहार सैह्य नहुने चेतावनी दिनुभयो। “हाम्रो सेवा नागरिकमैत्री हुनुपर्छ र कार्यसम्पादनमा पूर्ण पारदर्शिता आवश्यक छ,” उहाँले जोड दिँदै भन्नुभयो।
प्रदेशको कठिन भौगोलिक बनावट र बढ्दो सवारी चापका कारण सिर्जित दुर्घटनाका चुनौतीहरूलाई सम्बोधन गर्न नयाँ रणनीति अपनाउनुपर्ने रिजालको भनाइ थियो। उहाँले ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउन आफ्नो क्षेत्रका सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गर्न मातहतका प्रमुखहरूलाई मार्गनिर्देशन गर्नुभयो।
बैठकमा प्रदेशभरका ट्राफिक प्रमुखहरूले आ–आफ्नो कार्यक्षेत्रमा भोगेका समस्या, चुनौती र अनुभवहरू प्रस्तुत गरेका थिए। सहभागीहरूका जिज्ञासा र कार्यक्षेत्रका जटिलतालाई सुन्दै प्रहरी उपरीक्षक रिजालले ती समस्या समाधानका लागि ठोस उपायहरू सुझाउनुभएको थियो। यस निर्देशनले कर्णालीको ट्राफिक प्रशासनमा थप सुधार आउने र सडक सुरक्षामा सकारात्मक परिवर्तन देखिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्