२०८३ वैशाख ५ , शनिबार
१८ दिनदेखि शवगृहमा इनिशा

न्यायको पर्खाइमा रित्तिँदै बुबाको बिदा, मेटिँदै परिवारको भरोसा



सुर्खेत । सुर्खेतकी किशोरी इनिशा विकको रहस्यमय मृत्यु भएको आज १८ दिन पुग्दा पनि उनको शवले अन्तिम संस्कार पाउन सकेको छैन। “जबसम्म निष्पक्ष र विश्वसनीय छानबिन हुँदैन, तबसम्म छोरीको शव बुझ्दैनौँ” भन्ने परिवारको अडानका कारण इनिशाको पार्थिव शरीर अझै कर्णाली प्रदेश अस्पतालको शवगृहमा न्याय कुरिरहेको छ। यो घटनाले केवल एउटा परिवारलाई मात्र होइन, सिङ्गो मुलुकलाई नै उद्वेलित बनाएको छ।

गत फागुन २३ गते विद्यालय हिँडेकी इनिशा सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्। सोही दिन प्रहरीले १६ वर्षीय एक किशोरलाई नियन्त्रणमा लियो र उनको बयानका आधारमा थप तीन जना पक्राउ परे। प्रहरीले अनुसन्धान जारी रहेको बताए पनि १८ दिनसम्म ‘वास्तविकता’ बाहिर नआउँदा परिवारमा संशय बढेको छ।

यता भेरी अस्पतालका फरेन्सिक विज्ञको टोलीले गरेको पोस्टमार्टममा ‘यौनाङ्गमा लागेको गम्भीर चोट र अत्यधिक रक्तस्राव’ लाई मृत्युको कारण देखाइएको छ। तर, इनिशाकी आमा तिलाले यो रिपोर्टप्रति कडा असन्तुष्टि जनाउनुभएको छ। उहाँ भन्नुहुन्छ, “छोरीलाई जुन अवस्थामा मैले फेला पारेकी थिएँ, त्यो हेर्दा यो रिपोर्टमा मलाई सुरुदेखि नै शङ्का छ।”

छोरीको मृत्युको खबर पाएर विदेशबाट फर्कनुभएका बुबा इन्द्रबहादुरको पीडा झनै मर्मस्पर्शी छ। कम्पनीले दिएको बिदा सकिन लाग्दा पनि अनुसन्धानले ठोस मोड लिन सकेको छैन। “प्रहरीले अझै रिपोर्ट आउँदै छ मात्र भन्छ, के-के विषयमा अनुसन्धान भइरहेको छ, हामीलाई अत्तोपत्तो छैन,” उहाँले भन्नुभयो। यो ‘रहस्यमय’ ढिलाइले कतै न्याय मर्न लागेको त होइन भन्ने त्रास परिवारमा देखिएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी सुधीरराज शाहीका अनुसार, सीआईबी (CIB) सहित प्रहरीका चारवटा टोलीले यसलाई सूक्ष्म रूपमा हेरिरहेका छन्। प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार टक्सिकोलोजिकल, भिसेरा र बायो सेरोलोजिकल रिपोर्ट दुई-तीन दिनमा आउने र त्यसपछि अनुसन्धानको पाटो सकिने। तर सामाजिक सञ्जालमा हुने मनगढन्ते अड्कलबाजी र अपुष्ट सूचनाले अनुसन्धानमा बाधा पुर्‍याएको प्रहरीको दाबी छ।

प्रकाशित मिति : २०८२ चैत १० गते मंगलबार