२०८३ वैशाख ६ , आइतबार
कर्णाली समृद्धि महोत्सव २०८२

कला, संस्कृति र साहसिक पर्यटनको महाकुम्भ



सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी चैत ११ गतेदेखि २२ गतेसम्म ‘कर्णाली समृद्धि महोत्सव २०८२’ आयोजना हुने भएको छ। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति सुर्खेतको आयोजनामा हुन लागेको यो महोत्सवले कर्णालीको मौलिक पहिचान र आर्थिक सम्भावनालाई एउटै थलोमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। वीरेन्द्रनगर नगरपालिका–१ स्थित रेडियो नेपालको परिसरमा सञ्चालन हुने यस महोत्सवले सुस्ताएको स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ।

महोत्सवको मुख्य आकर्षण कर्णालीको सुगन्धित कला र संस्कृति रहनेछ। आयोजकका अनुसार ख्यातिप्राप्त कलाकारहरूको लोकदोहोरी, गीत-सङ्गीत र नृत्यले दर्शकलाई मनोरञ्जन दिलाउने,  स्थानीय कलाकारहरूलाई आफ्नो कला प्रदर्शन गर्ने यो एउटा महत्त्वपूर्ण मञ्च बनाउने र लोपोन्मुख लोक संस्कृति र परम्परागत बाजागाजाहरूको जगेर्ना गर्ने उद्देश्य राखिएको छ।

महोत्सव केवल नाचगानमा मात्र सीमित नभई ‘उद्यमशीलता’ सँग पनि जोडिएको छ। मेलामा राखिने विभिन्न व्यापारिक स्टलहरूमा निम्न सामग्रीहरूको प्रदर्शन र बिक्री गरिनेछ । महाेत्सवमा कर्णालीका गाउँ-बस्तीमा उत्पादित घरेलु तथा अर्गानिक सामग्रीहरूकाे प्रदर्शनी र उद्यमीहरूलाई आफ्ना उत्पादनहरूको बजारीकरण गर्ने र ग्राहकसँग सिधा सम्पर्क स्थापित गर्ने अवसर दिने अायाेजकले जनाएकाे छ ।

महोत्सवमा पर्यटकीय आकर्षण थप्न आयोजकले साहसिक खेललाई पनि समेटेका छन्। गोठीगाडाबाट प्याराग्लाइडिङको व्यवस्था गरिने भएको छ, जसले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सुर्खेतको आकाशमा उड्ने र उपत्यकाको सुन्दर दृश्य नियाल्ने दुर्लभ अवसर प्रदान गर्नेछ।

प्रकाशित मिति : २०८२ चैत ९ गते सोमबार