सुर्खेत । कर्णाली र सुदूरपश्चिमका दुर्गम जिल्लाहरूमा यातायातको मुख्य कडी मानिने हवाई सेवालाई व्यवस्थित बनाउन नेपाल वायुसेवा निगमले नयाँ पहलकदमी लिएको छ। निगमले नेपालगञ्जलाई ‘हब’ बनाएर साप्ताहिक उडान तालिका सार्वजनिक गर्दै विकट क्षेत्रका बासिन्दाका लागि राहतको ढोका खोलेको हो।
यो तालिकाले विशेषगरी सडक सञ्जालको पहुँच नपुगेका वा कमजोर भएका हुम्ला, मुगु (ताल्चा), डोल्पा र जुम्ला जस्ता जिल्लाहरूमा खाद्यान्न ढुवानी र आपतकालीन स्वास्थ्य सेवामा ठूलो टेवा पुग्ने देखिएको छ।
निगमले आइतबारदेखि शुक्रबारसम्मका लागि तय गरेको कार्यतालिका अनुसार आइतबार काठमाडौँ–रुकुम–नेपालगञ्जसहित ताल्चा र जुम्लाका लागि नेपालगञ्जबाट सिधा उडान गर्ने, सोमबार नेपालगञ्ज–हुम्ला–सुर्खेत–हुम्ला–नेपालगञ्ज र नेपालगञ्ज–बाजुराको तालिका सार्वजनिक गरेकाे छ ।
त्यस्तै मंगलबार डोल्पा, ताल्चा र जुम्ला (सुर्खेतसहित) का लागि नियमित उडान, बुधबार हुम्ला, बाजुरा, रुकुम र जुम्ला गरी चारै दिशामा हवाई पहुँच, बिहीबार नेपालगञ्जबाट ताल्चा (सुर्खेत कनेक्टिभिटीसहित) र बाजुरा उडान र शुक्रबार ताल्चा र रुकुम हुँदै पुनः काठमाडौँसम्मको उडान तय गर्ने जनाएकाे छ ।
निगमको यो नियमित उपस्थितिले केवल आवतजावत मात्र सहज बनाउने छैन, यसले कर्णालीको पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधिमा समेत प्राण भर्ने विश्वास लिइएको छ। निजी एयरलाइन्सहरूको मनोमानी भाडा र अनिश्चित उडानका बीच सरकारी जहाजको यो ‘सेड्युल’ ले सर्वसाधारणलाई राज्यको उपस्थिति महसुस गराउनेछ।
प्रतिक्रिया दिनुहोस्