सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरमा लागूऔषधको जालो तोड्न सुर्खेत प्रहरीले आफ्नो सक्रियतालाई थप तीव्र पारेको छ। सोमबार दिउँसो वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदे क्षेत्रबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर (खैरो हिरोइन) सहित दुई जनालाई नियन्त्रणमा लिएको हो। यो पक्राउले सहरका भित्री गल्ली र शंकास्पद क्षेत्रहरूमा प्रहरीको ‘निगरानी’ कति मजबुत छ भन्ने पुष्टि गरेको छ।

सोमबार दिउँसो करिब १:०० बजेको समयमा बुदबुदे क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेका व्यक्तिहरूमाथि प्रहरीले नजर राखेको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले चलाएको खानतलासी अभियानका क्रममा ३६ वर्षीय हर्ष सिंह ठकुरी र २२ वर्षीय तुला नेपालीलाई रङ्गेहात फेला पारिएको हो। प्रहरीका अनुसार, उनीहरूको शरीर र खानतलासी गर्दा नापतौलमा शुद्ध २ ग्राम ब्राउनसुगर बरामद भएको छ।
पक्राउ परेका ठकुरी र नेपाली दुवैलाई हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखिएको छ। उनीहरू विरुद्ध लागूऔषध नियन्त्रण ऐन बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। २ ग्राम सुन्दा सानो परिणाम देखिए पनि यसले ठूलो कारोबारको ‘नेक्सस’ सम्म पुग्ने कडी प्रदान गर्न सक्ने प्रहरीको विश्वास छ।
प्रतिक्रिया दिनुहोस्