सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिकामा सञ्चालित गजेखोला पुङ्ग र टुले खर्चे चुले खानेपानी तथा सरसफाइ आयोजनाको दोस्रो चरणको विस्तृत अनुगमन सम्पन्न भएको छ। एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम (हेल्भेटास नेपाल) को आर्थिक सहयोग र सुन्दर नेपाल संस्थाको प्राविधिक तथा सामाजिक सहजीकरणमा सञ्चालित यी आयोजनाहरूको प्रभावकारिता जाँच्न संयुक्त टोली मैदानमा उत्रिएको हो।
स्थानीय जनप्रतिनिधि, उपभोक्ता समिति र सरोकारवाला संस्थाहरूको उपस्थितिमा भएको यो अनुगमनले आयोजनाको दिगोपन र पारदर्शितामाथि मसिनो गरी अध्ययन गरेको छ। अनुगमन टोलीले केवल निर्माणाधीन आयोजना मात्र होइन, पुराना योजनाहरूको वर्तमान अवस्थालाई समेत नजिकबाट नियालेको छ। अनुगमन पश्चात् चिङ्गाड गाउँपालिकाका जनप्रतिनिधि र योजना शाखा प्रमुखहरूसँग बसेको समीक्षा बैठकले आयोजनाका सबल र सुधार गर्नुपर्ने पक्षहरूबारे विस्तृत जानकारी गराएको छ। जसले गर्दा आगामी दिनमा बजेट र योजना व्यवस्थापनमा स्थानीय सरकारलाई थप सहज हुने देखिएको छ।

आयोजना अनुगमनकै सेरोफेरोमा सल्यानको कालीमाटी गाउँपालिका–४ स्थित ‘ग्राण्ड घुरचौर खानेपानी तथा सरसफाइ आयोजना’ मा ३३ औँ विश्व पानी दिवस मनाइएको छ। “जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ” भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तरक्रियामा पानीको बहुआयामिक महत्त्वबारे गहिरो बहस भएको थियो। अनुगमनमा पानीको मुहानदेखि उपभोक्ताको धारासम्मको शुद्धता र संरक्षण गर्ने विधि अपनाउने, घरेलु स्तरमा पानीलाई कसरी पिउनयोग्य (शुद्धीकरण) बनाउने भन्ने प्रयोगात्मक जानकारी, पानीको सहज पहुँचले समाजमा कसरी लैंगिक र सामाजिक समानता ल्याउन सक्छ भन्ने विषयमा छलफल र “पानी बचाऔँ, भविष्य बचाऔँ” भन्ने संकल्पका साथ स्वस्थ जीवनका लागि स्वस्थ पानीको अपरिहार्यता लगायतका विषयमा गहन छलफल समेत भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्