२०८३ वैशाख ५ , शनिबार
वीरेन्द्रनगरमा 'पोषण मेला'

भान्छादेखि व्यवहारसम्म परिवर्तनको आँट



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आइतबार पोषणको महत्त्व र स्थानीय खानपानको प्रवर्धन गर्ने उद्देश्यका साथ एक भव्य ‘पोषण मेला’ सम्पन्न भएको छ। केयर नेपाल, आईडीई (iDE) नेपाल र सुन्दर नेपाल संस्थाको प्राविधिक तथा आर्थिक सहयोगमा वीरेन्द्रनगर नगरपालिका वडा नं. १० र घुस्रा स्वास्थ्य चौकीको समन्वयमा यो कार्यक्रम आयोजना गरिएको हो। यो मेला केवल प्रदर्शनीमा मात्र सीमित रहेन, यसले कुपोषण विरुद्धको लडाइँ र हानिकारक सामाजिक संस्कार विरुद्धको ‘मिसन’ का रूपमा आफूलाई उभ्याएको छ।

सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भूपेन्द्रप्रसाद कँडेलका अनुसार यस मेलाले केवल खानपानको कुरा मात्र गरेन, बरु पोषणसँग जोडिएका गहिरा सामाजिक पाटोलाई पनि मसिनो गरी केलाएको छ । गाउँघरमै पाइने पोषिला खानेकुरा र कृषि प्रविधिको प्रयोगमा जोड दिन, बालविवाह र लैंगिक विभेदले महिला तथा बालबालिकाको पोषणमा पार्ने नकारात्मक असरबारे सचेतना अभिबृद्दी गर्न र  समुदायमा परम्परागत हानिकारक मान्यता त्यागेर स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्न मेला अायाेजना गरिएकाे हाे ।

मेलामा सहभागीहरूलाई आकर्षित गर्न र व्यवहारिक ज्ञान दिन विभिन्न रचनात्मक गतिविधिहरू समावेश गरिएका थिए । जसमा स्वस्थ बच्चा प्रतियोगिता र आमा समूहहरूबीच पोषण सम्बन्धी हाजिरीजवाफ, पोषिलो जाउलो बनाउने विधि र सरसफाइका सामग्रीहरूको जीवन्त प्रदर्शनी र ‘सानो उमेर, ठूलो पीडा’ शीर्षकमा बालविवाह विरुद्धको नाटक, जनचेतनामूलक गीत र सांस्कृतिक नृत्य प्रस्तुत गरिएकाे थियाे ।

कार्यक्रमको सफलतासँगै निर्देशक कँडेलले यस्ता प्रभावकारी कार्यक्रमलाई वीरेन्द्रनगरका सबै १६ वटै वडामा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। “जनप्रतिनिधिहरूले नीति, कार्यक्रम र बजेट निर्माण गर्दा पोषणलाई प्राथमिकतामा राख्नुपर्छ,” उहाँको जोड थियो। समुदायको पोषण स्थितिमा सुधार ल्याउन स्थानीय सरकारको लगानी र अधिकारकर्मीहरूको सक्रियताको ‘फ्युजन’ हुनुपर्ने सन्देश मेलाले दिएको छ।

प्रकाशित मिति : २०८२ चैत ९ गते सोमबार