२०८३ वैशाख ७ , सोमबार
कर्णालीमा स्टार्टअपको नयाँ क्षितिज

सुर्खेतमा प्रविधि र उद्यमशीलताको अर्थपूर्ण ‘अभ्यास’



सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी’ को पूर्वतयारी स्वरुप एक दिने विशेष अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सुर्खेत उद्योग वाणिज्य संघको समन्वय र राष्ट्रिय युवा परिषद्को आयोजनामा भएको यो कार्यक्रमले स्थानीय उत्पादनलाई नवीन प्रविधिसँग जोडेर बजारमा लैजाने एउटा ठोस आधार तयार पारेको छ।

परम्परागत खेती र व्यापारभन्दा माथि उठेर ‘स्टार्टअप’ सोचका साथ अघि बढिरहेका कर्णालीका युवा तथा महिला उद्यमीहरूको यो भेलालाई प्रदेशको आर्थिक रुपान्तरणको प्रारम्भिक खुड्किलोका रूपमा हेरिएको छ।

सुर्खेत उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा स्थानीय रैथाने बालीका उत्पादकदेखि आईटी (IT) क्षेत्रका विज्ञहरूको बाक्लो उपस्थिति थियो। सहभागी उद्यमीहरूले आफूले उत्पादन गरेका वस्तुहरूको नमुना प्रदर्शन गर्नुका साथै व्यावसायिक यात्रामा भोगेका चुनौती र अनुभवहरू साटासाट गरे। कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपसचिव तारापति खरेलले कर्णालीका उत्पादनहरूको उच्च प्रशंसा गर्दै आगामी प्रदर्शनीले प्रदेशभरका व्यवसायीहरूलाई एउटै छातामुनि ल्याउने लक्ष्य राखिएको बताउनुभयो।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्काले संघ केवल सदस्यतामा मात्र सीमित नरहेर व्यवसायीको वास्तविक समस्या समाधानमा केन्द्रित रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार संघले सञ्चालन गरिरहेको ‘उद्यमी हेल्प डेस्क’ मार्फत हाल व्यवसायिक, वित्तीय तथा प्राविधिक प्रस्तावना (Proposal) लेखन,  भिसिटिएस (VCTS) सेवा र उत्पत्तिको प्रमाणपत्र सम्बन्धी कार्य र महिला र युवा व्यवसायीका लागि छुट्टै व्यावसायिक ढाँचाको कार्यान्वयन सेवाहरू निःशुल्क प्रदान भइरहेका छन् ।  अभिमुखीकरण कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालयका प्रतिनिधिहरू र स्थानीय निकायका वाणिज्य शाखा प्रमुखहरूको समेत सक्रिय सहभागिता थियो। राष्ट्रिय युवा परिषद्का अधिकृतद्वय मानबहादुर कार्की र गेहेनाथ गौतमले आगामी प्रदर्शनीको प्राविधिक पक्षबारे जानकारी दिँदै कर्णालीको स्टार्टअप इकोसिस्टमलाई बलियो बनाउन सरकारी र निजी क्षेत्रको सहकार्य अनिवार्य रहेकोमा जोड दिनुभयो।

प्रकाशित मिति : २०८२ चैत ८ गते आइतबार