२०८३ वैशाख ५ , शनिबार
निसा प्रकरणको अन्तर्राष्ट्रिय राप

अमेरिकाकाे न्यूयोर्कमा दीप प्रज्वलन, सुर्खेतमा न्यायको पर्खाइ



सुर्खेत । सुर्खेतकी किशोरी इनिसा विकको रहस्यमय मृत्यु र बलात्कारपछि हत्या गरिएको भनिएको घटनाले अब भौगोलिक सीमा नाघेर अन्तर्राष्ट्रिय रूप लिएको छ। न्यायको माग गर्दै आवाज केवल कर्णालीका सडकमा मात्र होइन, सात समुन्द्र पारि अमेरिकाको न्यूयोर्कसम्म पुगेको छ।

न्यूयोर्कस्थित क्विन्स ज्याक्सन हाईट्सको डाइभर्सिटी प्लाजामा भेला भएका नेपाली अधिकारकर्मी, पत्रकार र सामाजिक अभियन्ताहरूले इनिसाको आत्माको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका छन्। यो प्रदर्शनले स्पष्ट पारेको छ— न्यायको खोजीमा विश्वभरका नेपालीहरू एकढिक्का छन्।

गत फागुन २३ गते विद्यालय जान हिँडेकी इनिसा वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्। घटनास्थलबाटै उनका प्रेमी भनिएका एक नाबालक पक्राउ परेका थिए। हाल प्रहरीले ती बालकसहित उनका केही साथीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

इनिसाको मृत्युको कारण ‘अत्यधिक रक्तस्राव’ देखिएको छ, जसले बलात्कार वा गम्भीर शारीरिक चोटको आशंकालाई बल पुर्‍याएको छ। घटनाको गम्भीरतालाई हेर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले सुर्खेतमै बसेर सूक्ष्म अध्ययन थालेको छ। पीडित परिवारले यो घटना ‘सामूहिक बलात्कारपछि गरिएको हत्या’ भएको दाबी गर्दै दुई हप्तादेखि शव बुझ्न मानेका छैनन्। हाल इनिसाको शव प्रदेश अस्पताल सुर्खेतको शवगृहमा न्यायको पर्खाइमा छ।

प्रहरीले सबै प्रमाणहरू संकलन भइरहेको र अनुसन्धान निष्पक्ष हुने दाबी गरे पनि, पीडित पक्षमा भने ‘न्याय नपाइने’ त्रास अझै कायमै छ। पहुँच र प्रभावका आधारमा अपराधी उम्कन सक्ने आशंकाले गर्दा नै शवगृहबाट इनिसाको अन्तिम संस्कार हुन सकेको छैन। न्यूयोर्कमा भएको शान्तिपूर्ण प्रदर्शनले पनि नेपाल सरकार र सुरक्षा निकायलाई ‘छिटो र पारदर्शी’ न्यायका लागि थप दबाब सिर्जना गरेको छ।

इनिसा विक प्रकरण अहिले कर्णाली प्रदेश सरकार र नेपाल प्रहरीका लागि एउटा अग्निपरीक्षा बनेको छ। राजधानी सुर्खेतको मुटुमै एउटी बालिकाले ज्यान गुमाउनु र हप्तौँसम्म रहस्य नखुल्नुले सुरक्षा संयन्त्रमाथि प्रश्न उठाएको छ। न्यूयोर्कदेखि सुर्खेतसम्म सल्किएको यो न्यायको दीप तब मात्र सार्थक हुनेछ, जब वास्तविक दोषीहरू कानुनको कठघरामा उभिनेछन्।

प्रकाशित मिति : २०८२ चैत ८ गते आइतबार