सुर्खेत । सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणले देशैभरि चर्चा र आक्रोश पैदा गरिरहेका बेला प्रहरी नेतृत्वले आफ्नो मौनता तोडेको छ। प्रहरी महानिरीक्षक (IGP) दान बहादुर कार्कीले यो घटनाको अनुसन्धान कुनै दबाब वा प्रभावमा नभई विशुद्ध ‘तथ्य र प्रमाण’ का आधारमा भइरहेको स्पष्ट पारेका छन्।
काठमाडौँमा शनिबार आयोजित अन्तर्राष्ट्रिय जाति तथा रङ्गभेद उन्मूलन दिवसको मञ्चबाट आईजीपी कार्कीले कानुनको अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाउँदै पीडित परिवारलाई न्यायको प्रत्याभूति गराएका हुन्।
आईजीपी कार्कीले सुर्खेत घटनालाई प्रहरीले उच्च प्राथमिकतामा राखेको बताउँदै अनुसन्धानको दायरालाई वैज्ञानिक र प्रमाणमुखी बनाइएको उल्लेख गरे। “हामीले सुर्खेत वा अन्य कुनै पनि घटनामा कानुनको मर्म अनुसार तथ्य र प्रमाणलाई नै प्रधान मान्नुपर्छ,” उनले भने, “पीडित पक्षको निरन्तरको आवाज र उनीहरूको ‘इन्गेजमेन्ट’ लाई हामीले सम्मानपूर्वक हेरिरहेका छौँ।” उनका अनुसार, सडकको आवाज वा सामाजिक सञ्जालको लहर भन्दा पनि कानुनी प्रमाणले दोषी ठहर गर्ने आधारहरू संकलन गर्न प्रहरी टोली अहोरात्र खटिएको छ।

प्रहरी नेतृत्वले पीडित परिवारसँग निरन्तर सम्पर्कमा रहेको र उनीहरूको न्याय पाउने अधिकारलाई सुनिश्चित गर्न कुनै कसर बाँकी नराखिने बताएको छ। “दोषीलाई कारबाही र पीडितलाई न्याय— यो हाम्रो मुख्य संकल्प हो,” कार्कीले थपे, “अनुसन्धानका लागि पर्याप्त स्रोत र दक्ष जनशक्ति परिचालन गरिएको छ, छिट्टै नै यो घटनाको वास्तविक निष्कर्ष सार्वजनिक हुनेछ।” इनिशा विक प्रकरणमा बढ्दो सार्वजनिक दबाब र ‘डिजिटल’ ट्रायलका बीच आईजीपीको यो भनाइले कानुनी प्रक्रियामाथि विश्वास जगाउने प्रयास गरेको छ। जबसम्म तथ्यले अपराधीको पहिचान गर्दैन, तबसम्म न्याय अधुरो रहने प्रहरीको ठम्याइ छ। अबको प्रतीक्षा भनेको प्रहरीले संकलन गरेका ती ‘तथ्य र प्रमाण’ ले कहिले र कसरी इनिशाका हत्यारालाई कठघरामा उभ्याउँछन् भन्ने नै हो।
प्रतिक्रिया दिनुहोस्