२०८३ भदौ ३० , मंगलबार
स्थानीय खबर

रक्तस्राव भएकी सुत्केरीको हेलिकोप्टरवाट उद्धार



सुर्खेत । कर्णालीको दुर्गम भूगोल र स्वास्थ्य सेवाको सीमित पहुँचका बीच हुम्लाकी एक सुत्केरी महिलाका लागि नेपाली सेनाको हेलिकोप्टर ‘वरदान’ सावित भएको छ। हुम्लाको चंखेली गाउँपालिका–५, पिप्लाङ निवासी ३४ वर्षीया वासना शाहीलाई अत्यधिक रक्तस्रावका कारण जीवन र मरणको दोसाँधबाट बाहिर ल्याउन हवाई उद्धार गरिएको हो।

यो घटनाले फेरि एकपटक कर्णालीका हिमाली जिल्लाहरूमा सुरक्षित मातृत्व सेवाको दयनीय अवस्था र आपतकालीन उद्धारको अनिवार्यतालाई पुष्टि गरेको छ। सुरेन्द्रबहादुर शाहीकी श्रीमती वासनालाई गत चैत ६ गते बिहानदेखि नै सुत्केरी व्यथाले च्यापेको थियो। स्थानीयस्तरमा उपचार सम्भव नभएपछि र अवस्था जटिल बन्दै गएपछि उनलाई सोही दिन साँझ जिल्ला अस्पताल हुम्ला पुर्‍याइयो। तर, अस्पतालका चिकित्सकहरूले त्यहाँको स्रोत-साधनले सुत्केरी गराउन असम्भव रहेको ठहर गरेपछि परिवारमा चिन्ताको बादल मडारिएको थियो।

जिल्ला अस्पतालको सिफारिस लगत्तै जिल्ला प्रशासन कार्यालय हुम्लाले थप उपचारका लागि प्रदेश राजधानी सुर्खेत पठाउने द्रुत निर्णय गर्‍यो। सुत्केरीपछि शरीरमा रगतको मात्रा निकै घटेको र अत्यधिक रक्तस्राव नरोकिएका कारण उनलाई ‘NA-055’ नम्बरको नेपाली सेनाको हेलिकोप्टरमार्फत सिमकोट विमानस्थलबाट उद्धार गरी सिधै प्रदेश अस्पताल सुर्खेत पुर्‍याइयो। उद्धारका क्रममा वासनाका साथमा उनका आफन्त सीता शाही समेत रहेकी थिइन्। समयमै गरिएको यो हवाई उडानले एक आमाको ज्यान जोगाउन निर्णायक भूमिका खेलेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

हुम्ला जस्तो विकट ठाउँमा विशेषज्ञ चिकित्सक र रगतको अभावले गर्दा अझै पनि आमाहरूले आकाशतिर हेरेर ज्यानको भिख माग्नुपर्ने अवस्था विद्यमान छ। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत गरिने यस्ता हवाई उद्धारले तत्कालका लागि राहत दिए पनि, कर्णालीका जिल्ला अस्पतालहरूलाई सुविधायुक्त बनाउनु नै दिगो समाधान हुने देखिन्छ।

प्रकाशित मिति : २०८२ चैत ७ गते शनिबार