सुर्खेत । कर्णाली प्रदेशको सडक सुरक्षा यतिबेला गम्भीर चुनौती र कडा निगरानीको बीचमा गुज्रिरहेको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतले सार्वजनिक गरेको फागुन महिनाको तथ्याङ्कले प्रदेशका मुख्य राजमार्गदेखि भित्री सडकखण्डसम्मको भयावह र अनुशासित दुवै पाटोलाई उजागर गरेको छ। तीव्र गति र लापर्बाहीका कारण सडक दुर्घटनाको ग्राफ उकालो लागिरहेका बेला ट्राफिक प्रहरीले आफ्नो सक्रियतालाई समेत तीव्र पारेको देखिन्छ।
फागुन महिनाभर प्रदेशका विभिन्न जिल्लामा गरिएको कडा जाँच (चेकिङ) का क्रममा १ हजार ४ सय ३१ वटा सवारी साधन कारबाहीमा परेका छन्। ट्राफिक नियम उल्लंघन गर्ने ती सवारी धनीहरूबाट कुल १३ लाख ८ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ।

प्रहरी नायब उपरीक्षक (DSP) हरिबहादुर बिसीका अनुसार रत्न राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, मध्यपहाडी लोकमार्ग र भेरी करिडोर जस्ता मुख्य लाइफलाइनहरूमा ‘राजमार्ग सुरक्षा गस्ती’ लाई विशेष प्राथमिकता दिइएको थियो। महिनाभर झण्डै ७९ हजार सवारी साधनको प्राविधिक जाँच गरिएको कार्यालयले जनाएको छ।
राजस्व सङ्कलन र कारबाही बढ्नुको मुख्य कारण सडकमा बढ्दो असुरक्षा नै हो। फागुनमा मात्रै कर्णालीमा ९३ वटा सवारी दुर्घटना भएका छन्, जसमा १३१ वटा सवारी साधन प्रत्यक्ष संलग्न थिए। दुर्घटनामा ७ पुरुष र १ महिला गरी ८ जनाले अकालमै ज्यान गुमाएका छन्। कुल १६० जना घाइते भएका छन्, जसमध्ये ६४ जनाको अवस्था गम्भीर छ भने ९६ जना सामान्य घाइते भएका छन्। घाइते हुनेमा ९३ पुरुष, ४७ महिला र २० जना बालबालिका रहेका छन्।

प्रहरीको सूक्ष्म विश्लेषण अनुसार दुर्घटनाका मुख्य कारणहरूमा तीव्र गति, मादक तथा लागुपदार्थ सेवन (मापसे/लापसे), चालकको अदक्षता र जथाभाबी पार्किङ रहेका छन्। यी मानवीय त्रुटीलाई कम गर्न ट्राफिक प्रहरीले ‘सचेतना अभियान’ लाई समेत विद्यालय, टोल र समुदायसम्म पुर्याएको छ। यस महिना मात्रै ३२ हजार भन्दा बढी सर्वसाधारण, विद्यार्थी र चालकहरूलाई ट्राफिक नियमसम्बन्धी कक्षा दिइएको छ। सडकलाई ‘मृत्युको पासो’ बन्न नदिन प्राविधिक जाँचसँगै मानवीय व्यवहारमा सुधार ल्याउनु नै अहिलेको मुख्य आवश्यकता देखिएको छ।
प्रतिक्रिया दिनुहोस्