२०८३ वैशाख ५ , शनिबार
सडकमा 'गुण्डागर्दी'

बिरामी बोकेको एम्बुलेन्समाथि मध्यरातमा आक्रमण, चालक कुटिए



सुर्खेत । मानवीय संवेदना शून्य भएको एउटा बीभत्स दृश्य सुर्खेतको रामघाट बजारमा देखिएको छ। रुकुम पश्चिमको चौरजहारीबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको सल्यानको कुमाख गाउँपालिकाको एम्बुलेन्समाथि गएराति १० बजेतिर एक समूहले साङ्घातिक आक्रमण गरेको छ।

कर्णाली प्रदेश ०२.००१ झ ०१३८ नम्बरको उक्त एम्बुलेन्सलाई मदिराको नशामा लठ्ठ भएका युवाहरूको समूहले बीच सडकमा अवरोध खडा गरी रोकेर तोडफोड र आक्रमण गरेका हुन्।

एम्बुलेन्स चालक वसन्त शर्माका अनुसार ८–९ जनाको समूहमा रहेका उच्छृङ्खल युवाहरूले एम्बुलेन्स रोक्नेबित्तिकै आक्रमण सुरु गरेका थिए। चालकलाई कुटपिट गरेपछि ज्यान जोगाउन उनी भाग्नुपरेको थियो। चालक भागेपछि रिसले चुर भएका आक्रमणकारीले एम्बुलेन्सको पछाडिको भाग र बडीमा ठूलो क्षति पुर्‍याएका छन्।

“ज्यानको जोखिम भएपछि भागेर बाँचेँ, नत्र ती मदिराले मात्तिएकाहरूले के गर्थे भन्न सकिन्न,” चालक शर्माले आफ्नो पीडा सुनाए। अचम्मको कुरा त के छ भने, बिरामी बोकेको एम्बुलेन्सलाई बाटो छाडिदिनुको सट्टा किन यसरी आक्रमण गरियो भन्ने कुनै कारण अझै खुल्न सकेको छैन। आक्रमणकारीले एम्बुलेन्स र चालकलाई निसाना बनाए पनि भित्र रहेका बिरामी भने भाग्यवश सुरक्षित रहे। चालक शर्माले साहस बटुलेर फेरि एम्बुलेन्स नियन्त्रणमा लिई बिरामीलाई सकुशल नेपालगन्ज पुर्‍याएका छन्। घटनालगत्तै प्रहरीलाई खबर गरे पनि प्रहरी टोली पुग्नुअघि नै आक्रमणकारीहरू फरार भइसकेका थिए।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीले घटना सुर्खेतको क्षेत्राधिकारभित्र परे पनि प्रारम्भिक बुझाइमा मदिरा सेवन गरेका युवाहरूको समूह संलग्न रहेको पुष्टि गरेका छन्। घाइते चालक र एम्बुलेन्स धनी पक्षले दोषीलाई तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

प्रकाशित मिति : २०८२ चैत ७ गते शनिबार