सुर्खेत । आउँदो चैत १९ गतेदेखि सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ का लागि कर्णाली प्रदेशले आफ्नो सम्पूर्ण प्रशासनिक र प्राविधिक तयारी पूरा गरेको छ। शिक्षा विकास निर्देशनालय सुर्खेतका अनुसार, यस वर्ष कर्णालीका १० जिल्लाबाट कुल ३८ हजार ३ सय ७९ विद्यार्थीहरू परीक्षामा सहभागी हुँदैछन्। यो तथ्याङ्कले कर्णालीको शैक्षिक क्षेत्रमा बढ्दो आकर्षण र विद्यार्थीको भविष्यप्रतिको सचेततालाई स्पष्ट रूपमा झल्काउँछ। निर्देशनालयका सूचना अधिकारी एवं परीक्षा शाखा प्रमुख खिमप्रसाद ढकालका अनुसार, कुल परीक्षार्थीमध्ये ३२ हजार २५५ नियमित तर्फका छन् भने ६ हजार १२४ विद्यार्थी ग्रेड वृद्धि (पुरक) तर्फका रहेका छन्। यी विद्यार्थीका लागि प्रदेशभर १६१ वटा परीक्षा केन्द्र तोकिएका छन्।
सुर्खेत शीर्ष स्थानमा, डोल्पामा न्यून उपस्थिति

भौगोलिक विकटता र जनघनत्वका आधारमा जिल्लागत परीक्षार्थी र केन्द्रको संख्यामा ठूलो अन्तर देखिएको छ । तथ्याङ्क अनुसार, सबैभन्दा बढी चाप राजधानी सुर्खेतमा छ भने सबैभन्दा कम विद्यार्थी हिमाली जिल्ला डोल्पाबाट सहभागी हुँदैछन्। जस अनुसार सुर्खेतमा ९,७७९, दैलेखमा ६,२५३, जाजरकोटमा ४,८१३, सल्यानमा ४,१४२, रुकुम पश्चिममा ३,९२२, कालिकोटमा ३,७१७, जुम्लामा २,२५५, मुगुमा १,५२४, हुम्लामा १,३० र डोल्पामा ६७४ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । डोल्पामा जम्मा ४ वटा केन्द्र मात्र कायम गरिएको छ, जसले त्यहाँको भौगोलिक जटिलता र सीमित शैक्षिक पहुँचलाई संकेत गर्छ।
शिक्षा विकास निर्देशनालयले सबै केन्द्रहरूमा प्रश्नपत्र र उ त्तरपुस्तिकाको व्यवस्थापनसँगै सुरक्षा निकायहरूसँगको समन्वयलाई तीव्र पारेको छ। ‘फलामे ढोका’ मानिने यो परीक्षालाई शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नु नै अहिलेको मुख्य चुनौती हो। हिमाली जिल्लाका विकट केन्द्रहरूमा समेत परीक्षा सामग्री पुर्याउने कार्यलाई प्राथमिकतामा राखिएको निर्देशनालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्