सुर्खेत । शिक्षा क्षेत्रको ‘फलामे ढोका’ मानिने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि सुर्खेत जिल्लाले आफ्नो सम्पूर्ण तयारी पूरा गरेको छ। चैत १९ गतेदेखि सुरु भई २९ गतेसम्म चल्ने यस वर्षको परीक्षामा सुर्खेतबाट कुल ९ हजार ७ सय ७४ जना विद्यार्थी सहभागी हुँदैछन्। शिक्षा विकास तथा समन्वय इकाइ सुर्खेतका अनुसार, गत वर्षको तुलनामा यसपटक परीक्षार्थीको सङ्ख्या ७५६ ले वृद्धि भएको छ, जसले जिल्लामा शैक्षिक पहुँच विस्तार हुँदै गएको सङ्केत गर्छ। जिल्लाभर यसपालि कुल १७९ विद्यालयबाट विद्यार्थीहरू परीक्षामा सहभागी हुँदै छन्र । जसमध्ये नियमित तर्फ ७ हजार २ सय ७६ जना र ग्रेड वृद्धिका लागि २ हजार ४ सय ९८ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन्र
त्यस्तै प्राविधिक धारबाट नियमितमा १३७ र ग्रेड वृद्धिमा ७५ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालयले जनाएकाे छ । त्यस्तै ७ जना दृष्टिविहीन विद्यार्थीहरूले पनि यसै वर्ष सुर्खेतबाट परीक्षा दिने साहस गरेका छन्।

परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन जिल्लाभर ३४ वटा परीक्षा केन्द्र तोकिएका छन्। समन्वय इकाइका शाखा अधिकृत नारायण प्रसाद पौडेलका अनुसार, वीरेन्द्रनगरका मुख्य विद्यालयदेखि ग्रामीण क्षेत्रका माविहरूलाई केन्द्रका रूपमा चयन गरिएको छ।
समन्वय इकाइले यो वर्षको परीक्षालाई ‘मर्यादित र भयरहित’ वातावरणमा सम्पन्न गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। केन्द्र तोकिएका विद्यालयहरूमा उत्तरपुस्तिका र प्रश्नपत्रको सुरक्षादेखि केन्द्राध्यक्षहरूको अभिमुखीकरणसम्मका कामहरू धमाधम भइरहेका छन्। झण्डै १० हजार भविष्यका कर्णधारहरूको परीक्षालाई सफल बनाउनु यतिबेला सुर्खेतको शैक्षिक प्रशासनका लागि मुख्य प्राथमिकताको विषय बनेको छ।
प्रतिक्रिया दिनुहोस्