सुर्खेत । सुर्खेतको गुर्भाकोटस्थित भेरी नदीको उर्लँदो भेलमा आफ्ना दुई निर्दोष सन्तानसहित हामफालेकी माया कठायतको मृत्यु प्रकरणले अहिले एउटा गम्भीर कानुनी र सामाजिक मोड लिएको छ। छोराछोरीसहित मृत्यु रोज्न बाध्य पारिएको भन्दै मायाका माइती पक्षले उनका श्रीमान् भूपेन्द्र कठायतविरुद्ध ‘आत्महत्या दुरुत्साहन’ को मुद्दा दायर गरेका छन्।
यो घटना केवल एउटा आत्महत्या मात्र होइन, बरु वर्षौँदेखि गुम्सिएको घरेलु हिंसा र मदिराको लतले निम्त्याएको एउटा पारिवारिक विनासको तस्विर हो। गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया मायाले गत आइतबार बेलुकी साढे चार बजेतिर ११ वर्षीया छोरी आशा र ५ वर्षीय छोरा दीपकलाई साथमै लिएर भेरीमा फाल हालेकी थिइन्। सोमबार माया र मंगलबार छोरी आशाको शव फेला परिसकेको छ भने ५ वर्षीय अबोध बालक दीपक अझै बेपत्ता छन्।

मायाका बुवा बालुदेव गिरीले प्रहरीमा बुझाएको जाहेरीमा उल्लेख भए अनुसार, भूपेन्द्रले दैनिक रूपमा मदिरा सेवन गरी श्रीमती र छोराछोरीमाथि चरम शारीरिक तथा मानसिक यातना दिने गरेका थिए। “श्रीमान्को अमानवीय व्यवहार र निरन्तरको सास्ती सहन नसकेरै मेरी छोरीले कलिला नातिनातिना लिएर मृत्यु रोज्न बाध्य भइन्,” जाहेरीमा भनिएको छ।
इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रकाश केसीका अनुसार, माइती पक्षको जाहेरी दर्ता भएसँगै प्रहरीले भूपेन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ। आत्महत्या दुरुत्साहनको मुद्दामा भूपेन्द्रको संलग्नता र घरभित्र हुने गरेको हिंसाको गहिराइलाई प्रहरीले प्रमाणका रूपमा संकलन गरिरहेको छ। सम्पत्तिको लोभ, मदिराको उन्माद र पितृसत्तात्मक सोचले कसरी एउटा हाँस्दै-खेल्दै गरेको परिवारलाई नदीको चिहान बनाउँछ भन्ने यो घटना एउटा ज्वलन्त र दुखद उदाहरण बनेको छ।
प्रतिक्रिया दिनुहोस्