२०८३ वैशाख ५ , शनिबार
कर्णाली प्रदेशसभाको बैठक अस्थायी भवनमा

मुख्यमन्त्रीले सम्बोधन गर्ने, खेलकुद विधेयक टेबुल हुने



सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक आजदेखि आफ्नै प्राङ्गनको नवनिर्मित अस्थायी सभा हलबाट सुरु हुने भएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको पाँचौँ बैठक आज दिउँसो ३ बजे नवनिर्मित अस्थायी हलमा बस्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए ।
जेन्जी आन्दोलनका क्रममा प्रदेशसभाको स्थायी सभाहलमा आगजनी र तोडफोडबाट पूर्ण रुपमा नष्ट छ । सोही कारण स्थायी सभा हल नबन्दासम्मका लागि प्रदेशसभाले आफ्नै प्राङ्गनमा अस्थायी सभा हल निर्माण गरेको हो ।
आजको बैठकमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सभालाई सम्बोधन गर्ने कार्य सूचि छ । यसअघिका बैठकहरुमा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ सरकारका तर्फबाट मुृख्यमन्त्री कँडेलले दिनु हुने छ । जसमा हालसम्म प्रदेश सरकारको कार्यप्रगति र बजेट कार्यान्वयन लगायतका विषयमा जानकारी दिनुहुने छ ।


त्यस्तै आज नै प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले ‘कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६’ लाई संशोधन गर्न बनेको विधेयक टेबुल गर्ने कार्यसूचि छ । खासगरी यो विधेयकमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिव पदको सेवा सुविधा लगायतका विषयमा संशोधन राखिएको छ । यसअघि विधेयकले सदस्य सचिवको सेवा सुविधाबारे प्रष्ट खुलाएको थिएन । सोही कारण प्रदेश सरकारले यो विधेयकलाई संशोधनका लागि प्रदेशसभामा लैजान लागेको हो ।


त्यस्तै कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले कर्णाली प्रदेश प्रज्ञा–प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनसमेत सभामा टेबुल गर्ने कार्य सूचि रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए । यो विधेयकमाथि संशोधन परेपछि प्रदेशसभाले आवश्यक छलफल र संशोधनका लागि सामाजिक विकास समितिमा पठाएको थियो । समितिले संशोधनकर्ताहरुसँग छलफल गरेर समितिबाट पास गरिसकेको छ । सोही कारण समितिले पास गरेको प्रतिवेदन सभापति खत्रीले सभामा पेश गर्न लागेको हुन् । समितिको प्रतिवेदन सभाले पास गरेपछि कर्णालीमा पनि प्रज्ञा प्रतिष्ठान गठन गर्ने बाटो खुल्ने छ ।
बैठकमा सदस्यहरुका लागि विशेष समयको समेत व्यवस्था गरिएको छ । विशेष समयमा प्रदेशसभा सदस्यहरुले आफ्नो निर्वाचन क्षेत्र र समसामयिक घटनाक्रमको विषयमा सरकारको ध्यानाकर्षण गराउने छन् ।

प्रकाशित मिति : २०८२ चैत ५ गते बिहीबार