सुर्खेत । कर्णाली प्रदेशको सत्ता समीकरणमा फेरि एकपटक ‘शाही’ रसायन बौरिन थालेको सङ्केत देखिएको छ। बुधबार बिहान वीरेन्द्रनगरमा दुई पूर्वमुख्यमन्त्री— नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नवनिर्वाचित सांसद महेन्द्रबहादुर शाही र नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच भएको भेटवार्ताले प्रदेशको राजनीतिमा नयाँ बहस छेडिदिएको छ।
प्रतिनिधिसभा निर्वाचनमा कालिकोटबाट विजयी भएका महेन्द्रबहादुरलाई बधाई दिने बहानामा भएको यो संवाद केवल शिष्टाचारमा मात्र सीमित रहेन। स्रोतका अनुसार, वर्तमान गठबन्धनको भविष्य र प्रदेश सरकारको नेतृत्व फेरबदलका विषयमा दुई नेताबीच निकै गहिरो विमर्श भएको छ।
अहिले कर्णालीमा कांग्रेसको समर्थनमा नेकपा एमालेका यामलाल कँडेल मुख्यमन्त्री छन्। तर, सरकार गठन भएदेखि नै यी दुई दलबीचको ‘क्यामेस्ट्री’ खासै जम्न सकेको छैन। मुख्यमन्त्री कँडेलले निर्वाचनका क्रममा कांग्रेसप्रति गरेको टिप्पणी र सत्ता सञ्चालनमा कांग्रेसले झिक्ने गरेको ‘बखेडा’ ले दुवै दल एकअर्काप्रति सशङ्कित छन्।

कालीकोटबाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित कर्णालीका संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बधाइदिँदै कर्णालीका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही ।
यही अन्योलका बीच दुई पूर्वमुख्यमन्त्रीको भेट हुनुलाई अर्थपूर्ण मानिएको छ। स्मरणीय छ, विगतमा यामलाल कँडेलले अविश्वासको प्रस्ताव ल्याएर महेन्द्रबहादुरको सत्ता संकटमा पार्दा प्रतिपक्षमा रहेका जीवनबहादुरले नै काँध थापेर उनको सरकार जोगाएका थिए। त्यही पुरानो सहकार्यको ‘ऋण’ र वर्तमानको ‘आवश्यकता’ ले यतिबेला दुवैलाई नजिक ल्याएको देखिन्छ।
केन्द्रमा भएको भनिएको पुरानो सहमति अनुसार, अहिलेको समय जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने पालो हो। तर, बदलिएको राजनीतिक परिदृश्य र ‘जेनजी’ आन्दोलनपछिको अस्थिरताले सो सहमति कार्यान्वयन हुनेमा संशय छ। भेटमा महेन्द्रबहादुरले स्पष्ट शब्दमा भनेका छन्— “जीवनजी, तपाईँ मुख्यमन्त्री बन्ने पालो आयो, अघि बढ्नुस्।”
महेन्द्रबहादुरले जीवनबहादुरलाई एउटा दरिलो विकल्प समेत सुझाएका छन् यदि एमालेका कँडेलले सहजै सत्ता हस्तान्तरण गर्दैनन् भने कांग्रेसले ‘अर्को तरिका’ ले सोच्नुपर्छ। र, त्यो ‘अर्को तरिका’ भनेको नेकपा र कांग्रेसबीचको नयाँ गठबन्धन हुनसक्ने सङ्केत उनले दिएका छन्। “एमालेले समर्थन नगरे नेकपा छँदै छ नि,” भन्ने महेन्द्रको आश्वासनले कांग्रेसलाई सत्ताको नयाँ ढोका देखाइदिएको छ।
जीवनबहादुर शाही प्रदेशको मुख्यमन्त्री बन्ने सपना बोकेरै सङ्घीय राजनीति छाडेर प्रदेश झरेका हुन्। यदि वर्तमान गठबन्धनभित्र उनको पालो सुनिश्चित हुँदैन भने, उनले महेन्द्रबहादुरको प्रस्तावलाई गम्भीरतापूर्वक लिने निश्चित छ। कर्णालीको राजनीतिमा संसदीय खेलाडी मानिने महेन्द्रबहादुर र अनुभवी जीवनबहादुरबीचको यो ‘शाही मिलन’ ले यामलाल कँडेलको सत्तायात्रामा कत्तिको चुनौती थप्छ, त्यो भने आगामी केही दिनको राजनीतिक घटनाक्रमले नै स्पष्ट पार्नेछ। अहिलेलाई यति भन्न सकिन्छ- कर्णालीमा एमाले–कांग्रेसको ‘बेमेल’ गठबन्धन भत्किएर ‘नेकपा–कांग्रेस’ को नयाँ अध्याय सुरु हुने सम्भावनाको बीजारोपण वीरेन्द्रनगरको यो भेटले गरिदिएको छ।
प्रतिक्रिया दिनुहोस्