२०८३ वैशाख ५ , शनिबार
रास्वपाप्रति महेन्द्रको बुझाइ

“जनमतको सबै सम्मान गर्नुपर्छ, राष्ट्रियताको पक्षमा सहयाेग गर्छाैँ”



सुर्खेत । कर्णालीका पूर्वमुख्यमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता महेन्द्रबहादुर शाहीले पछिल्लो निर्वाचनमार्फत उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त जनमतको सम्मान गर्नुपर्ने तर्क अघि सारेका छन्। कालिकोटबाट नवनिर्वाचित सांसदसमेत रहेका शाहीले बुधबार सुर्खेतमा पत्रकारहरूसँग वर्तमान राजनीतिक परिदृश्यबारे छलफल गर्दै नयाँ शक्तिलाई रचनात्मक सहयोग र खबरदारीको ‘दोहोरो सन्देश’ दिएका हुन्।

उनको विश्लेषणमा रास्वपालाई मिलेको जनमत केवल एउटा दलको विजय मात्र होइन, यो स्थापित राजनीतिक शक्तिहरूका लागि सच्चिने अवसर र जनताको तीव्र परिवर्तनको चाहना पनि हो।

शाहीले रास्वपालाई सहयोग गर्ने प्रतिबद्धता त जनाएका छन्, तर त्यसमा ‘राष्ट्रियता’ को एउटा गम्भीर सर्त तेर्स्याएका छन्। “रास्वपाले राष्ट्रियताको पक्षमा अडिग रहेर काम गर्नुपर्छ, कुनै पनि प्रकारका राष्ट्रघाती सन्धि-सम्झौताहरू स्वीकार्य हुने छैनन्,” उनले स्पष्ट पारे। देशलाई सिक्किमीकरणको बाटोमा लैजाने वा उत्तर कोरियाली शैलीको अनुदारवादतर्फ धकेल्ने प्रयास भएमा त्यो कसैका लागि पनि मान्य नहुने उनको चेतावनी छ। उनका अनुसार, नयाँ शक्तिले प्राप्त गरेको यो ऊर्जालाई देशको विकास, आर्थिक समृद्धि र सुशासनमा खर्चिनु नै आजको आवश्यकता हो।

वर्तमान व्यवस्था र संविधानमाथि नै धावा बोल्ने वा यसलाई असफल बनाउने खेल कतैबाट पनि हुन नहुने शाहीको ठहर छ। “यो व्यवस्थालाई फेल हुन नदिन हामी सबैले रास्वपालाई सहयोग गर्छौँ,” उनले थपे, “तर उनीहरूलाई फेल गराउने खेलमा लाग्नु भनेको अन्ततः देशलाई नै असफल बनाउनु हो।” राष्ट्रियता र लोकतान्त्रिक पद्धतिको रक्षा गर्ने सवालमा पुराना र नयाँ दलहरूबीच एउटै स्वर हुनुपर्नेमा उनले जोड दिएका छन्।

सामाजिक न्याय र सुशासनका क्षेत्रमा जनताले रास्वपाबाट जुन उच्च अपेक्षा राखेका छन्, त्यसलाई पुरा गर्नका लागि अन्य दलहरूले सहयोगी भूमिका खेल्नुपर्ने शाहीको बुझाइ छ। “जनताको भरोसा गुम्न नदिनु नै अहिलेको राजनीतिको मुख्य चुनौती हो,” शाही भन्छन्। उनको यो अभिव्यक्तिले के सङ्केत गर्छ भने— कर्णाली र सिङ्गो देशको राजनीति अब केवल सत्ताको लुछाचुँडीमा मात्र होइन, बरु राष्ट्रिय सार्वभौमिकता र डेलिभरीको प्रतिस्पर्धामा केन्द्रित हुनुपर्छ।

प्रकाशित मिति : २०८२ चैत ४ गते बुधबार