सुर्खेत। वीरेन्द्रनगरमा भएको १६ वर्षीया इनिसा विकको मृत्यु प्रकरणले अहिले सिंगो सुर्खेतलाई आन्दोलित बनाएको छ। यही क्रममा कर्णाली सुन–चाँदी, रत्न तथा आभूषण संघ सुर्खेतले पनि मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै यो जघन्य अपराधको निष्पक्ष र कुनै पनि ‘पावर’ वा ‘दबाब’ बिना छानबिन गर्न माग गरेको छ।
संघका अध्यक्ष दिनेश घिमिरे र महासचिव मदन कुमार सिंहद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ- “ट्युसन पढ्न हिँडेकी नानी जङ्गलमा अचेत, रक्ताम्य र नग्न अवस्थामा भेटिनुले हाम्रो समाज कता जाँदैछ भन्ने गम्भीर प्रश्न उठाएको छ।” यो अमानवीय घटनाले सुर्खेतका सम्पूर्ण नागरिकलाई चिन्तित र असुरक्षित महसुस गराएको संघले उल्लेख गरेको छ।

अहिले प्रहरीले चार जना किशोरलाई समातेर अनुसन्धान गरिरहेको छ। व्यवसायीहरूले भनेका छन्-“पक्राउ परेकाहरू जोसुकै हुन्, उनीहरूलाई कुनै पनि राजनीतिक वा अन्य दबाबमा पारेर उम्काउने प्रयास नगरियोस्।” अनुसन्धान पारदर्शी हुनुपर्ने र दोषीलाई कानुन अनुसार कडाभन्दा कडा कारबाही हुनुपर्नेमा संघले जोड दिएको छ।
देशभर बालिका र महिलामाथि हुने हिंसाका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै संघले यस्ता अपराधीलाई समयमै कडा कारबाही गर्न नसकिए समाजमा ‘दण्डहीनता’ मौलाउने चेतावनी दिएको छ। राज्यले ‘शून्य सहनशीलता’ को नीति अपनाएर पीडित परिवारलाई छिटो न्याय दिलाउनुपर्ने माग सुर्खेतका सम्पूर्ण सुन–चाँदी व्यवसायीहरूले एकमतले राखेका छन्।
प्रतिक्रिया दिनुहोस्