सुर्खेत। वीरेन्द्रनगरको जनजागरण सामुदायिक वनमा बीभत्स अवस्थामा मृत भेटिएकी १६ वर्षीया इनिसा विकको शव १० दिन बितिसक्दा पनि उठ्न सकेको छैन। “जबसम्म निष्पक्ष छानबिन हुँदैन र दोषीले कडा सजाय पाउँदैनन्, तबसम्म शव बुझ्दैनौँ” भन्दै पीडित परिवारले अडान लिएपछि इनिसाको पार्थिव शरीर अझै प्रदेश अस्पतालकै शव गृहमा छ।
घटनाको गाम्भीर्यतालाई बुझेर अहिले अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेत जोडिएको छ। सुर्खेत प्रहरीका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढथापाका अनुसार सीआईबीको विज्ञ टोलीले शनिबारदेखि नै फिल्डमा खटिएर ‘गहन’ अनुसन्धान सुरु गरिसकेको छ। प्रहरीले पीडित र पक्राउ परेका किशोरहरूको मोबाइल लगायतका विद्युतीय प्रमाणहरू फरेन्सिक ल्याबमा पठाएको छ, जसको रिपोर्ट आउन अझै केही समय लाग्ने देखिएको छ।

पीडित परिवारकै माग अनुसार भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले सुर्खेत आएर शवको विस्तृत परीक्षण गरेको थियो। त्यो रिपोर्टले घटना कति क्रुर थियो भन्ने छर्लङ्ग पारेको छ। रिपोर्टमा उल्लेख भए अनुसार इनिसाको अत्यधिक रक्तस्राव नै मृत्युको मुख्य कारण हो। इनिसाका दाजु चक्र विकले स्पष्ट भनेका छन्— “मेरी बहिनीको बलात्कारपछि हत्या गरिएको हो। प्रहरीले सबै तथ्य सार्वजनिक गरेर अपराधीलाई तह नलगाएसम्म हामीले बहिनीको शव उठाउने कुरै आउँदैन।” अहिले यो घटनालाई लिएर सुर्खेत मात्र होइन, देशैभरिबाट न्यायको माग गर्दै प्रदर्शन भइरहेका छन्।
प्रतिक्रिया दिनुहोस्