२०८३ वैशाख ६ , आइतबार
भेरीको भेलमा बिलिन भयो एउटा परिवार

आमा र छोरीको शव भेटियो, ५ वर्षीय छोरा अझै बेपत्ता



सुर्खेत। आइतबारदेखि आफ्ना दुई कलिला सन्तानसहित बेपत्ता भएकी गुर्भाकोट–१२ पिप्लेकी ३८ वर्षीया माया कठायतको कथा अन्ततः भेरी नदीको किनारमा दुखद अन्त्य भएको छ। सोमबार बेलुका मायाको शव भेटिएकोमा मंगलबार बिहान उनकी ११ वर्षीया छोरी आशाको पनि शव फेला परेको छ। ५ वर्षीय छोरा दीपकको अवस्था भने अझै अज्ञात छ।

माया आफ्ना ११ वर्षीया छोरी आशा र ५ वर्षीया छोरा दीपकलाई लिएर आइतबारदेखि घरबाट निस्किएकी थिइन्। सोमबार बिहान श्रीमान् भूपेन्द्र कठायतले श्रीमती र छोराछोरी हराएको खबर प्रहरीलाई गरेपछि खोजी सुरु भएको थियो। घरदेखि करिब ३ किलोमिटर टाढा भेरी नदीको किनारमा मायाले प्रयोग गर्ने झोला, सल, चप्पल र मोबाइल बेवारिसे अवस्थामा भेटिएपछि उनीहरूले नदीमा हाम फालेको आशङ्का गरिएको थियो।

खोजी गर्ने क्रममा सोमबार बेलुका लेकवेशी–३ को पटारे भन्ने ठाउँमा मायाको शव भेरीमा तैरिरहेको अवस्थामा भेटिएको थियो। मंगलबार बिहान छोरी आशाको शव पनि गुर्भाकोट–१२ कै नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। अब अबोध बालक दीपकको मात्रै खोजी कार्य जारी छ।

कुन विवशता वा पीडाले गर्दा एउटी आमाले आफ्ना काखका सन्तानसहित यस्तो कठोर निर्णय लिइन् होला, त्यो त अब अनुसन्धानकै विषय छ। तर यो घटनाले सिंगो गुर्भाकोट र सुर्खेतलाई शोकमा डुबाएको छ।

प्रकाशित मिति : २०८२ चैत ३ गते मंगलबार