सुर्खेत। वीरेन्द्रनगरको रेडियो नेपाल चोक नजिकैबाट हराएका एकै परिवारका तीन जना बालबालिकालाई प्रहरीले सकुशल फेला पारेको छ। कालिकोटको रास्कोट–८ घर भई हाल वीरेन्द्रनगर–२ मा डेरा गरी बस्ने तुलराज न्यौपानेका छोराछोरी सोमबार मध्याह्नदेखि एकाएक हराएपछि परिवारमा रुवाबासी चलेको थियो।

यो संकेतिक तस्विर एआइबाट तयार पारिएको हो ।
११ वर्षकी प्रतिक्षा न्यौपाने, ७ वर्षका विवेक न्यौपाने र ५ वर्षकी कल्पना न्यौपाने दिउँसो १२ बजेदेखि सम्पर्कविहीन भएका थिए। बालबालिका हराएको खबर पाउनासाथ प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईको कमाण्डमा १० जनाको विशेष टोली तत्कालै खोजतलासका लागि फिल्डमा खटिएको थियो।
प्रहरीको सक्रिय खोजीपछि ती तीनै जना बालबालिकालाई फेला पारी अहिले अभिभावकको जिम्मा लगाइएको छ। बालबालिकाहरू कसरी र कता पुगेका थिए भन्नेबारे प्रहरीले थप बुझ्ने काम गरिरहेको छ।
प्रकाशित मिति : २०८२ चैत ३ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्