सुर्खेत। कर्णालीको माटो, राजनीति, अर्थतन्त्र र समाजका विविध पाटोमाथि मन्थन हुने प्रसिद्ध बहस उत्सव ‘कुडा कर्नालीका’ को सातौँ संस्करण आगामी चैत २८ गतेदेखि सुरु हुने भएको छ। कर्णालीको राजधानी वीरेन्द्रनगरमा हरेक वर्ष आयोजना हुने यो उत्सव यसपालि चैत २८, २९ र ३० गते तीन दिनसम्म चल्नेछ।
आयोजक ऋति फाउन्डेसनका अनुसार यसपटकको उत्सवमा विषयवस्तुलाई दिनअनुसार विभाजन गरिएको छ । जस अनुसार पहिलो दिन कर्णालीको आर्थिक अवस्था र सम्भावनाका विषयमा बहस हुनेछ।

दोस्रो दिन पर्यावरण, प्रकृति र वातावरणसँग जोडिएका सत्रहरू सञ्चालन हुनेछन् भने तेस्रो दिन समसामयिक राजनीति र सुशासनका कुरामा नेता तथा विज्ञहरूसँग सवाल-जवाफ अायाेजकले जनाएकाे छ ।
बहस मात्र होइन, कथा र कला पनि! उत्सवका कार्यकारी निर्देशक दिनेश गौतमका अनुसार सिटी हलको प्राङ्गणमा हुने यो उत्सवमा प्यानल छलफल मात्र हुने छैन। कर्णालीका संघर्षशील र प्रतिभाशाली व्यक्तिहरूको कथा सुन्नका लागि ‘पैकेलो’ सत्र पनि रहनेछ। त्यति मात्र कहाँ हो र सम्धीज्यू, दिनभरिको बहसपछि साँझलाई रमाइलो बनाउन सांस्कृतिक साँझ र गजल साँझको पनि व्यवस्था गरिएको छ।
हरेक दिन देशका ख्यातिप्राप्त विद्वान्हरूले कुनै न कुनै समसामयिक विषयमा आफ्नो प्रवचन दिने कार्यक्रम पनि तय गरिएको छ। कर्णालीको परिचय बदल्ने र यहाँको आवाज केन्द्रसम्म पुर्याउने यो थलोमा यसअघि छ वटा संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस्