२०८३ वैशाख ६ , आइतबार
स्थानीय खबर

सिकार खेल्न गएका ६ जनामध्ये एकको मृत्यु, पाँचै जना फरार !



सुर्खेत । चुनावको मौका छोपेर बर्दिया राष्ट्रिय निकुञ्जमा चोरी-सिकारी गर्न छिरेका सुर्खेतका ६ जनामध्ये एक युवकको रहस्यमय मृत्यु भएको छ। २३ फागुनमा घरबाट १७ किलोमिटर टाढा निकुञ्जको भित्री इलाकामा पुगेका बराहताल र लेकवेशीका युवाहरूमध्ये ३३ वर्षीय टोपबहादुर खत्रीको मृत्यु भएको १० दिनपछि मात्रै रहस्य खुलेको हो।

बराहताल–१ का रेशम समसेली, रबिलाल दमाई, रामबहादुर घर्ती, सुनिल समसेली र लेकवेशी–८ का दुर्गाबहादुर सिजाली सहित टोपबहादुर खत्री भरुवा बन्दुक बोकेर सिकार खेल्न निकुञ्ज छिरेका थिए। तर, सोही दिन घर फर्किएका पाँचै जना निकै हतास र डराएका देखिन्थे। उनीहरूले टोपबहादुरको जंगलमै मृत्यु भएको खबर परिवारलाई सुनाए र “यो कुरा कसैलाई नभन्नु” भन्दै सोही दिन भारततर्फ फरार भए।

१० दिनसम्म गुपचुप रहेको यो घटना सिकार खेल्न गएका सुनिल समसेलीकी आमाले टोपबहादुरका भिनाजु आसे महतरालाई सुनाएपछि मात्रै बाहिर आएको हो। भिनाजु महतराले सोमबार रानीघाट प्रहरी चौकीमा खबर गरेपछि प्रहरीले खोजतलासमा तदारुकता देखाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार टोपबहादुरको मृत्यु कसरी भयो भन्ने यकिन भइसकेको छैन। “आपसमा झगडा भएको हो वा जनावरलाई हानेको गोली साथीलाई लाग्यो, त्यो अनुसन्धानपछि खुल्नेछ,” बुढथापाले भने। घटनास्थल बर्दियामा पर्ने भएकाले सुर्खेत प्रहरीले बर्दिया प्रहरीलाई पनि खबर गरिसकेको छ।

बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलले घटनाको जानकारी पाएलगत्तै अनुसन्धान अधिकारी तोकेर काम अघि बढाइएको बताए। मंगलबार नेपाल प्रहरी, नेपाली सेना र निकुञ्जको संयुक्त टोलीले ड्रोन क्यामेराको समेत प्रयोग गरेर घटनास्थल र शवको खोजतलास गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : २०८२ चैत ३ गते मंगलबार