२०८३ वैशाख ६ , आइतबार
इनिसा मृत्यु प्रकरण

सीसीटीभीमा ‘प्रेम’, पोस्टमार्टममा ‘क्रुरता’, अब पोलिग्राफ र डीएनएकै भर



सुर्खेत। वीरेन्द्रनगरको जनजागरण सामुदायिक वनमा भएको १६ वर्षीया इनिसा विकको मृत्युको अनुसन्धान अब अन्तिम र निर्णायक मोडमा पुगेको छ। पक्राउ परेका चारै जना किशोरहरूको बयान सकिएको छ भने प्रहरीले ‘वैज्ञानिक प्रमाण’ को पर्खाइमा अनुसन्धानलाई थप सूक्ष्म बनाएको छ।

मुख्य अभियुक्त भनिएका १६ वर्षीय किशोरले इनिसासँग आफ्नो ‘प्रेम सम्बन्ध’ रहेको दाबी गरेका छन्। उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्— “यौन सम्बन्ध राख्ने क्रममा इनिसा बेहोस भइन् र अत्यधिक रक्तस्राव भएपछि म आत्तिएर साथीहरूलाई गुहार मागेँ।” अन्य तीन किशोरहरूले भने साढे ८ बजेपछि मात्रै घटनास्थल पुगेको बताएका छन्।

प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा बिहान ६ बजेतिर इनिसा र ती मुख्य किशोर मात्रै हात समातेर जङ्गलतर्फ गएको देखिएको छ। अन्य तीन किशोरहरू भने बिहान साढे ८ बजेतिर मात्रै अत्तालिएको जस्तो गरी घरबाट निस्किएको अर्को फुटेजमा देखिएको छ। यसले मुख्य किशोरको बयानलाई केही हदसम्म बल पुर्‍याए पनि ‘सामूहिक बलात्कार’ को शङ्का भने अझै मेटिएको छैन।

भेरी अस्पतालका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले गरेको पोस्टमार्टम रिपोर्टले भने घटनाको क्रुरता बयान गरेको छ। रिपोर्टका अनुसार इनिसाको संवेदनशील अङ्ग (यौनाङ्ग) च्यातिएको छ। चोट पाठेघरसम्मै पुगेको र त्यसैका कारण भएको अत्यधिक रक्तस्रावले ज्यान गएको हुन सक्छ। यो ‘जबर्जस्ती करणी’ कै कारण भएको हुन सक्ने प्रहरीको बलियो आशङ्का छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार अबको एक हप्ताभित्र सबै कुराको छिनोफानो हुनेछ। अहिले अभियुक्तहरूले बोलेको कुरा साँचो हो कि झुटो भन्ने पत्ता लगाउन नेपालगन्जबाट विज्ञ टोली खटिएको छ। टक्सिकोलोजी र बायो-सेरोलोजिकल रिपोर्टको लागि नमुना काठमाडौँ पठाइएको छ। मोबाइलको कल डिटेल्स र लोकेसन हेरेर प्रहरीले घटनाको समय र उपस्थितिको तालमेल मिलाउँदै छ।

प्रकाशित मिति : २०८२ चैत ३ गते मंगलबार