सुर्खेत । सुर्खेतका सडकहरू दिनानुदिन असुरक्षित बन्दै गएका छन्। पछिल्लो एक महिनाको तथ्याङ्कलाई मात्रै हेर्ने हो भने सडक सुरक्षाको अवस्था निकै भयावह देखिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार, फागुन महिनामा मात्रै जिल्लाका विभिन्न स्थानमा ५१ वटा सवारी दुर्घटना भए, जसमा चार जनाले अकालमै ज्यान गुमाउनु पर्यो। मृत्यु हुनेमा तीन पुरुष र एक महिला छन्।
यी दुर्घटनाहरू केवल तथ्याङ्कमा सीमित छैनन्; यसले २७ जनालाई गम्भीर घाइते र ५६ जनालाई सामान्य चोटपटकसहित शारीरिक र मानसिक पीडा दिएको छ। सडकको यो रक्तपातपूर्ण चित्रले हाम्रो ट्राफिक चेतना र सवारी सञ्चालन पद्धतिमाथि नै गम्भीर प्रश्न उठाइदिएको छ।
कुल ७६ वटा सवारीसाधन संलग्न भएका यी दुर्घटनाहरूको मुख्य कारण मानवीय लापरवाही नै रहेको देखिन्छ। जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार, ओभरटेक गर्ने हतारो, तीव्र गति, मादक पदार्थ सेवन (मापसे), र सवारी चालक अनुमतिपत्र बिनाको ‘अक्षम’ ड्राइभिङ नै दुर्घटनाका प्रमुख कारक हुन्।

यसबाहेक, पैदलयात्रीले जथाभावी बाटो काट्ने प्रवृत्ति, सवारीको ओभरलोड, यान्त्रिक गडबडी, र सडकमा छोडिएका छाडा चौपायाहरूले पनि सडकलाई ‘एम्बुस’ जस्तै बनाएका छन्। मौसमको प्रतिकुलता र सडकको जीर्ण अवस्थाले यो जोखिमलाई अझै मलजल गरिरहेको छ।
ट्राफिक नियम उल्लङ्घन गर्ने विरुद्ध प्रहरीले कारबाहीलाई तीव्र त बनाएको छ, तर सडक अनुशासन भने अझै कायम हुन सकेको छैन। फागुन महिनामा मात्रै ६३७ सवारीसाधन कारबाहीमा परेका छन्, जसबाट राज्यले ५ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कारबाहीको सूचीमा सबैभन्दा बढी २७५ वटा मोटरसाइकल छन् भने कार, जिप र भ्यान १०७ वटा रहेका छन्। ट्रक, ट्याङ्कर, बस र टेम्पो चालकहरू पनि ट्राफिक नियमको फन्दाबाट उम्कन सकेका छैनन्।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले ‘चालकसँग १ मिनेट’ जस्ता सिर्जनात्मक कार्यक्रमदेखि पैदलयात्री लक्षित सचेतनाका १०१ वटा सत्रहरू सञ्चालन गरेको छ। यी कार्यक्रमबाट करिब ९ हजारभन्दा बढी नागरिक र चालक लाभान्वित भएको दाबी गरिए पनि सडकमा त्यसको प्रभाव भने न्यून देखिएको छ। सचेतनाका १६ वटा कार्यक्रम विभिन्न संघसंस्थामार्फत पनि सञ्चालन गरिएका छन्।
प्रतिक्रिया दिनुहोस्