२०८३ वैशाख ६ , आइतबार
स्थानीय खबर

सिकार खेल्न गएका सुर्खेतका ६ जना ९ दिनदेखि सम्पर्कविहीन



सुर्खेत । सुर्खेतको बराहतालबाट बर्दिया राष्ट्रिय निकुञ्जको घना जङ्गलतर्फ सिकारका लागि छिरेका ६ जना युवा विगत ९ दिनदेखि रहस्यमय रूपमा सम्पर्कविहीन भएका छन्। फागुन २३ गते घरबाट निस्किएका उनीहरू अहिलेसम्म नफर्किएपछि परिवार र आफन्तजन गहिरो चिन्ता र अन्योलमा परेका छन्।

प्रहरीका अनुसार, सम्पर्कविहीन हुनेहरूमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र ३३ वर्षीय टोपबहादुर खत्री रहेका छन्। त्यस्तै, लेकवेशी नगरपालिका–८ घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली पनि सोही समूहसँगै बेपत्ता भएका हुन्।

घरदेखि करिब १७ किलोमिटर दक्षिणमा रहेको निकुञ्जको जोखिमपूर्ण क्षेत्रतर्फ उनीहरू कुन उद्देश्यले र कसरी पुगे भन्ने तथ्य अझै स्पष्ट भइसकेको छैन। तर, निकुञ्ज प्रशासनको कडा निगरानी र वन्यजन्तुको जोखिमका बीच उनीहरूको लामो समयसम्मको मौनताले अनेकौँ आशङ्का उब्जाएको छ। फागुन २३ देखि हराएका उनीहरूको खोजीका लागि निकै ढिला गरी अर्थात् सोमबार मात्रै प्रहरीमा जानकारी पुगेको हो। बेपत्ता टोपबहादुरका भेनाजु आसे महतराले उनीहरू नफर्किएको भन्दै प्रहरी गुहारेपछि मात्रै यो घटना सार्वजनिक भएको हो।

अहिले सुर्खेत प्रहरीले बेपत्ता व्यक्तिहरूको खोजीका लागि सक्रियता बढाएको छ। निकुञ्जभित्रको विशाल भूगोल र सञ्चार सम्पर्कको अभावले खोजी कार्य चुनौतीपूर्ण बनेको छ। “सम्पर्कविहीन भएकाहरूको खोजीका लागि सबै सम्भावित क्षेत्रमा समन्वय भइरहेको छ,” सुर्खेत प्रहरीले जनाएको छ।

निकुञ्ज जस्तो संवेदनशील क्षेत्रमा अनुमतिबिनाको प्रवेश आफैँमा जोखिमपूर्ण त छ नै, त्यसमाथि ९ दिनसम्मको बेपत्ता स्थितिले उनीहरू कुनै प्राकृतिक दुर्घटनामा परे वा निकुञ्ज सुरक्षाकर्मीको फन्दामा, त्यसको निर्क्योल हुन बाँकी छ।

निकुञ्ज क्षेत्रमा हुने यस्ता ‘अवैध’ प्रवेशले कहिलेकाहीँ ठूलो मानवीय क्षति निम्त्याउने गरेको छ। यो घटनाले स्थानीय प्रशासन र समुदायबीच वन सुरक्षा र नागरिक सचेतनाको ग्यापलाई पुनः सतहमा ल्याइदिएको छ।

प्रकाशित मिति : २०८२ चैत २ गते सोमबार