दैलेख क्षेत्र नम्बर २ मा यसपालि एउटा यस्तो सुखद परिणाम आयो, जसलाई धेरैले “न्याय र विरासतको जित” भनेका छन्। २०७९ को चुनावमा जम्मा १५३ मतको झिनो अन्तरले पराजित हुँदाको त्यो नमीठो चोटलाई बिर्सिँदै एमालेका पाका नेता लक्ष्मीप्रसाद पोखरेलले यसपटक शानदार जित दर्ता गरेका छन्।
आइतबार सार्वजनिक अन्तिम नतिजा अनुसार पोखरेलले १३ हजार ८ सय ८९ मत ल्याएर विजयी झण्डा फहराए। उनले आफ्ना पुराना प्रतिस्पर्धी कांग्रेसका दिक्पालकुमार शाहीलाई ४ हजार ३ सय ३७ मतान्तरले पछारे। दिक्पालले ९ हजार ५ सय ५२ मत मात्रै पाए। रास्वपाका बखतबहादुर शाहीले ६ हजार ७ सय ९७ मत ल्याएर ‘घण्टी’ बजाउने कोसिस गरे पनि लक्ष्मीको राजनीतिक उचाइ अगाडि कसैको केही लागेन।

६३ वर्षीय लक्ष्मी पोखरेलको राजनीतिक इतिहास कुनै कथाभन्दा कम छैन। २०३६ सालमा कक्षा १० मा पढ्दै गर्दा १७ वर्षकै कलिलो उमेरमा पञ्चायतको विरोध गरेको भन्दै प्रहरीले उनलाई स्कुलबाटै पक्रेर जेल हालेको थियो। १६ वर्षमै नेमकिपाको विद्यार्थी कमिटी बनाएर राजनीतिमा होमिएका उनले शिक्षकको जागिर खाँदा पनि राति-राति लुकेर राजनीतिक गतिविधि गर्थे। २०४२ मा शिक्षक हुँदै जेल परेका उनले पछि जागिरै छाडेर गाउँ पञ्चायतको प्रधान जितेका थिए।
नेमकिपाबाट सुरु भएको उनको यात्रा एमाले, माले हुँदै फेरि एमालेमै आएर अडिएको छ। २०४६ को आन्दोलनमा दैलेखको कमाण्ड सम्हालेका लक्ष्मीलाई मतदाताले यसपटक ‘अनुभवी अभिभावक’ का रूपमा रोजेका छन्। यसअघि २०७० मा संविधानसभा सदस्य जितेका उनले २०७९ मा भने हार व्यहोर्नुपरेको थियो। पार्टीको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य हार्दा र २०७९ मा झिनो मतले सांसद हार्दा अलि निराश देखिएका लक्ष्मीका लागि यो जित “अन्तिम र निर्णायक” सावित भएको छ।

स्नातक तहसम्म पढेका र सादगी जीवन बिताउने पोखरेलले यसपालि नेकपाका योगेन्द्र शाही र नेमकिपाका बखत थापालाई पनि निकै पछाडि छाडिदिए। २०७९ को त्यो “झिनो हार” लाई यसपटक फराकिलो जितमा बदल्ने उनको दृढता अन्ततः सफल भएको छ। अब ‘माननीय’ पोखरेलले दैलेखको विकासलाई कुन गतिमा लैजान्छन्, त्यो त हेर्न बाँकी नै छ।
प्रतिक्रिया दिनुहोस्