सुर्खेत। वीरेन्द्रनगरको जनजागरण सामुदायिक वनमा अचेत भेटिएकी १६ वर्षीया इनिसा विकको मृत्यु भएको ८ दिन बितिसक्दा पनि अझै शव उठ्न सकेको छैन। सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै पीडित परिवारले शव बुझ्न नमानेपछि इनिसाको पार्थिव शरीर कर्णाली प्रदेश अस्पतालको शव गृहमा अलपत्र परेको हो।
यो घटनाको गाम्भीर्यतालाई हेरेर अहिले सुर्खेत प्रहरीलाई सघाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पनि सूक्ष्म अध्ययन सुरु गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले बलात्कारपछि अत्यधिक रक्तश्राव भएकै कारण इनिसाको ज्यान गएको देखाएको छ। घरबाट स्कुलको प्रयोगात्मक कक्षा लिन भनेर हिँडेकी नानी जङ्गलमा भेटिनु र त्यहीँबाट एक १६ वर्षीय किशोर पक्राउ पर्नुले घटना झनै शंकास्पद बनेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार अबको २ देखि ३ दिनभित्र अनुसन्धान सक्ने तयारी छ। इनिसा र पक्राउ परेका चारै जना किशोरका मोबाइल लगायतका विद्युतीय सामग्री, र इनिसाको ‘भजाइनल स्वाब’ परीक्षणका लागि काठमाडौँस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको छ।
“सामान्यतया फरेन्सिक रिपोर्ट आउन १५ दिन लाग्छ, तर यो घटनाको संवेदनशीलतालाई हेरेर एक हप्ताभित्रै सबै रिपोर्ट आउने गरी काम भइरहेको छ,” डीएसपी बुढथापाले भने। बायोसेरोलोजिकल र टक्सिकोजिकल परीक्षणको रिपोर्ट आएपछि मात्रै इनिसाको मृत्युको वास्तविक रहस्य खुल्ने प्रहरीको भनाइ छ।
मृतकका आफन्तहरूले भने पक्राउ परेका चारै जनाले सामूहिक बलात्कार गरेको दाबी गर्दै आएका छन्। जबसम्म अपराधीहरूलाई कानुनी रूपमा कठघरामा उभ्याइँदैन र न्यायको ग्यारेन्टी हुँदैन, तबसम्म शव नबुझ्ने उनीहरूको अडान छ।
प्रतिक्रिया दिनुहोस्