२०८३ वैशाख ६ , आइतबार
इनिसा मृत्यु प्रकरणमा प्रहरीको 'एक्सन'

पक्राउ परेका ४ किशोरको पोलिग्राफ र डीएनए परीक्षण हुँदै



सुर्खेत। वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बीभत्स मृत्यु भएको घटनामा प्रहरीले अनुसन्धानलाई निकै कडा र प्राविधिक बनाएको छ। पक्राउ परेका चारै जना किशोरहरूले सत्य ओकलुन् भनेर प्रहरीले उनीहरूको ‘पोलिग्राफ’ र ‘डीएनए’ परीक्षणको प्रक्रिया सुरु गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार शुक्रबारदेखि नै पोलिग्राफ जाँच (झुट बोलेको पत्ता लगाउने प्रविधि) सुरु भइसकेको छ। शुक्रबार एक किशोरको बयान र परीक्षण सकिएको छ भने शनिबार सार्वजनिक बिदा परेकाले बाँकी तीन जनाको परीक्षण आइतबारदेखि निरन्तर गरिनेछ। यसले घटनामा को-को संलग्न थिए भन्ने कुरा यकिन गर्न ठूलो मद्दत पुग्ने प्रहरीको विश्वास छ।

घटनाको वैज्ञानिक प्रमाण जुटाउन सुर्खेत प्रहरीले पक्राउ परेका चारै जना किशोरको रगतको नमुना र मृतक इनिसाको यौनाङ्गबाट लिइएको ‘स्वाब’ काठमाडौँस्थित विधि विज्ञान प्रयोगशालामा पठाएको छ। सुर्खेत प्रहरी प्रमुख एसपी सुधीरराज शाहीका अनुसार ल्याब रिपोर्ट आएपछि घटनामा कसको संलग्नता थियो भन्ने कुरा दूधको दूध, पानीको पानी हुनेछ। “हामीले प्राविधिक पाटोलाई निकै सावधानीपूर्वक हेरिरहेका छौँ,” एसपी शाहीले भने।

गुर्भाकोट–६ घर भई वीरेन्द्रनगरमा पढ्दै गरेकी इनिसा फागुन २३ गते शहीद पार्क नजिकैको जङ्गलमा बेहोस भेटिएकी थिइन्। अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरे पनि उनको पोस्टमार्टम रिपोर्टले डरलाग्दो तथ्य बाहिर ल्याएको छ। रिपोर्ट अनुसार उनको यौनाङ्गबाट अत्यधिक रक्तस्राव भएका कारण मृत्यु भएको पुष्टि भएको छ ।

प्रहरीका अनुसार घटना भएकै दिन एक जना र भोलिपल्ट परिवारको किटानी जाहेरीका आधारमा थप तीन जना (१५, १६ र १७ वर्षका) किशोरहरूलाई पक्राउ गरिएको थियो। एसपी शाहीले घटनामा संलग्न व्यक्तिहरूको लगभग पहिचान भइसकेको र केही प्राविधिक प्रमाणहरू जुट्न बाँकी रहेकाले मात्रै औपचारिक रूपमा सार्वजनिक नगरिएको सङ्केत गरेका छन्।

प्रकाशित मिति : २०८२ चैत १ गते आइतबार