जाजरकोटको राजनीतिमा यसपालि एउटा यस्तो ‘मिराकल’ भयो, जसको चर्चा अब वर्षौंसम्म हुनेछ। चार-चार पटक मन्त्री भइसकेका र जाजरकोटको राजनीतिमा ‘अजेय’ मानिने शक्तिबहादुर बस्नेतलाई उनकै पूर्व विद्यार्थी नेता खडकबहादुर बुढाले धुलो चटाएका छन्। फागुन २१ को निर्वाचनमा कांग्रेसका युवा नेता खडकले २ हजार ७ सय ३५ मतान्तरले शक्तिको ‘शक्ति’ ढाल्दै पहिलो प्रयासमै संसद्को यात्रा पक्का गरेका हुन्।
विजयी बुढाले २० हजार १४२ मत ल्याउँदा, नेपाली कम्युनिष्ट पार्टीका ‘हेभीवेट’ उम्मेदवार शक्ति बस्नेत १७ हजार ४०७ मतमा रोकिनु पर्यो। यो जितसँगै खडकले २०७४ मा गाउँपालिका अध्यक्ष हार्दाको चोट मात्रै बिर्सिएका छैनन्, जाजरकोट कांग्रेसमा एउटा नयाँ र जोसिलो नेतृत्वको उदय गराएका छन्।

२०४२ सालमा शिवालय–९ नाहाडामा जन्मिएका खडकको राजनीतिक यात्रा निकै जगैदेखि उठेको हो। २०५३ सालमा वीरेन्द्र उच्चमाविमा पढ्दै गर्दा नेविसंघको साधारण सदस्यता लिएर राजनीतिमा छिरेका खडक २०६३ मा जिल्ला सचिव र २०६४ मा भेरी ज्ञानोदय क्याम्पसको स्ववियु सभापति बनेका थिए।
राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनी अध्ययनशील र सङ्गठनमा खटिने नेताका रूपमा चिनिन्छन्। २०६७ सालको कांग्रेसको १२औँ महाधिवेशनमा उनी देशकै सबैभन्दा कान्छो महाधिवेशन प्रतिनिधि बनेर चर्चामा आएका थिए। जिल्ला सचिव, उपसभापति हुँदै २०७९ देखि कार्यवाहक सभापतिका रूपमा जाजरकोट कांग्रेस हाँकिरहेका खडक यसपालि जनताको असली ‘हिरो’ बनेर निस्किए।
जाजरकोटमा शक्ति बस्नेतको पकड निकै बलियो मानिन्थ्यो, तर यसपालि ‘परिवर्तन’ को हुरी यस्तो चल्यो कि युवाहरूमाझ परिचित खडकको अगाडि पुराना अनुभवहरू फिका सावित भए। हिजोसम्म संसद् छिर्न उनकै साथ खोज्नुपर्ने अवस्थामा रहेका जाजरकोटी कांग्रेस कार्यकर्ताले आज आफ्नै युवा नेतालाई सदन पठाउन सफल भएका छन्।
पहिलो पटक संसदीय चुनावमा होमिएर देशकै प्रभावशाली नेतालाई पराजित गर्नु खडकका लागि मात्र होइन, समग्र जाजरकोटी युवा पुस्ताका लागि एउटा ठूलो उपलब्धि हो। अब माननीयका रूपमा खडकले जाजरकोटको दुर्गमतालाई कसरी चिर्छन्, त्यो हेर्न बाँकी छ।
प्रतिक्रिया दिनुहोस्