कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–४, कुमाइ चोकमा युवा कृषक रोशन सिंहले गरेको स्ट्रबेरी खेती अहिले आकर्षणको केन्द्र बनेको छ। झण्डै १० कठ्ठा जमिनमा १५ लाख रुपैयाँ लगानी गरेर सुरु गरिएको स्ट्रबेरी खेती यतिबेला पाक्न थालेसँगै किन्न आउने ग्राहकहरूको भिड लाग्न थालेको छ।

पहाडी जिल्लामा व्यावसायिक रूपमा स्ट्रबेरी उत्पादन सम्भव छ भन्ने उदाहरण प्रस्तुत गर्दै सिंहले आधुनिक प्रविधि प्रयोग गरी खेती सुरु गरेका हुन्। अहिले खेतमा राताम्मे पाकेका स्ट्रबेरीहरूले वातावरण नै मनमोहक बनाएको छ। फल पाक्न थालेपछि स्थानीय मात्र नभई अन्य ठाउँबाट पनि मानिसहरू खेतमै पुगेर ताजा स्ट्रबेरी किन्ने गरेका छन्।
स्ट्रबेरी बगैंचाको आकर्षक दृश्यका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको समेत घुइँचो लाग्न थालेको छ। विशेषगरी टिकटक तथा भिडियो सामग्री बनाउने युवायुवतीहरू यहाँ पुगेर फोटो तथा भिडियो खिच्ने गरेका छन्। यसले खेतीलाई थप प्रचार–प्रसारमा सहयोग पुर्याएको छ।

कृषक सिंहका अनुसार सुरुमा ठूलो लगानी भए पनि बजारको राम्रो मागका कारण आशा जगाएको छ। “सुरुमा जोखिम थियो, तर अहिले ग्राहकहरू खेतमै आएर किनिरहेका छन्। यसले हौसला थपेको छ,” उनले बताए।

स्थानीय स्तरमै उत्पादन भएको ताजा स्ट्रबेरीले बजार पाउन थालेपछि अन्य युवाहरूलाई पनि व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने सम्भावना बढेको स्थानीयवासीहरू बताउँछन्।
कर्णालीजस्तो पहाडी क्षेत्रमा नयाँ बालीको सम्भावना देखाउँदै रोशन सिंहको यो प्रयासले कृषि क्षेत्रमा नयाँ प्रेरणा दिएको छ।
प्रतिक्रिया दिनुहोस्