सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासकाे कृतिम अभाव सुरू भएकाे छ । सरकारले अाघा सिलिन्डर ग्यास वितरण सुरू गरेकाे केही समयमै उपभाेक्ताले ग्यास संचित गर्न थालेका छन् । अागामी दिनमा ग्यासकाे हाहाकार हुने डरले उपभाेक्ताहरूले अतिरिक्त ग्यास संचित गर्न थालेका छन् ।

ग्यास संचित गर्नका लागि उपभाेक्ताहरूले घन्टाै लाइन बसेर ग्यास लिन थालेका छन् । जसका कारण बजारहरूमा पछिल्लो समय खाना पकाउने ग्यास (एलपी ग्यास) को चर्को अभाव देखिएको छ। उपभोक्ताहरू रित्तो सिलिन्डर बोकेर पसल-पसल धाउँदा पनि ग्यास नपाएको गुनासो गरिरहेका छन्। वीरेन्द्रनगर–१५ रतु घर भई पिपिरा बस्दै आएका प्रेमबहादुर शाहीले धेरै पसल धाउँदा पनि ग्यास नपाएको दुखेसो पोखे। कतिपय व्यापारीले त नयाँ चुलोसहितको सेट किने मात्रै ग्यास दिने सर्त राखेर उपभोक्तालाई सास्ती दिने गरेको पाइएको छ।

यता, व्यवसायीहरू भने बजारमा ग्यासको अभाव नभएको दाबी गर्छन्। भेरी ग्यासका सुर्खेत विक्रेता विनोद दाहालका अनुसार अनावश्यक हल्लाका कारण उपभोक्ताहरू आत्तिएर एकैपटक पसलमा थुप्रिएकाले भीड बढेको हो। “ग्यास अभाव हुने डरले एकै व्यक्ति दुई-तीनवटा खाली सिलिन्डर भर्न आएका छन्, जसले गर्दा बजारमा चाप देखिएको हो,” दाहालले भने।

बजारमा लुकामारी र कृत्रिम अभावको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले शुक्रबार एक सूचना जारी गर्दै कडा चेतावनी दिएको छ। प्रशासनले बजारमा इन्धन र ग्यासको सहज आपूर्तिमा अवरोध गर्ने, अनावश्यक होल्डिङ गर्ने वा बढी मूल्य लिनेलाई कानुन बमोजिम कारबाही गर्ने स्पष्ट पारेको छ।
प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, “कोही कसैले पनि अनावश्यक रूपमा इन्धन तथा ग्यास सिलिन्डर होल्डिङ नगरी आपूर्ति सहज बनाउनुहुन अनुरोध छ।” यदि कसैले यही मौका छोपेर नयाँ सिलिन्डरको मात्रै बजारीकरण गरेको वा कालोबजारी गरेको पाइएमा प्रचलित कानुन अनुसार हदैसम्मको कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
प्रतिक्रिया दिनुहोस्