वीरेन्द्रनगरस्थित सहिद पार्क नजिकैको सामुदायिक वनमा मृत भेटिएकी १६ वर्षीया इनिशा विकको शव एक सातादेखि प्रदेश अस्पताल सुर्खेतमा न्यायको पर्खाइमा छ। भदौ २३ गते शनिबार ‘प्रयोगात्मक परीक्षा छ’ भन्दै घरबाट निस्किएकी इनिशाको बलात्कारपछि मृत्यु भएको तथ्य पोस्टमार्टम रिपोर्टले पुष्टि गरिसकेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी सुधीरराज शाहीका अनुसार बलात्कारपछि भएको अत्यधिक रक्तस्राव नै उनको मृत्युको मुख्य कारण देखिएको छ, यद्यपि यो सामूहिक बलात्कार हो वा होइन भन्ने खुल्न थप प्रयोगशाला परीक्षणको रिपोर्ट कुर्नुपर्ने अवस्था छ।

घटनाको प्रकृति र प्रारम्भिक अनुसन्धानले शारीरीक सम्बन्धकै बेला अत्याधिक रक्ताश्रामका कारणा मृत्यु भएको संकेत गरे पनि पीडित परिवार भने न्याय पाउनेमा अझै सशंकित छन्र । घटना अनुसन्धानकै क्रममा रहेका सीसीटीभी फुटेजहरू अनाधिकृत रूपमा सार्वजनिक भएपछि परिवारको चिन्ता र संशयलाई थप बल पुर्याएको छ। प्रहरीले ती फुटेज बाहिर ल्याउनेको खोजी भइरहेको र अनुसन्धानलाई प्रभावित पार्ने तत्वहरूमाथि सुक्ष्म निगरानी राखिएको जनाएको छ।
इनिशाका बुवा इन्द्रबहादुर विकले छोरीले न्याय नपाएसम्म शव नबुझ्ने कठोर निर्णय लिएका छन्। सामाजिक सञ्जालमा भइरहेका भ्रामक प्रचार र चरित्रहत्या गर्ने प्रयासले परिवारलाई थप मर्माहत बनाएको छ। “छोरीले न्याय पाएको दिन मात्रै म उसको शव बुझ्छु,” बुवा इन्द्रबहादुरले भक्कानिँदै भने, “हामीलाई कुनै राजनीतिक संरक्षण होइन, केवल निष्पक्ष न्याय चाहिएको छ।” ८ बजे नै फर्किने वाचा गरेर घरबाट निस्किएकी इनिशाको मोबाइल स्विच अफ भएपछि सुरु भएको खोजी कार्य अन्ततः सहिद पार्कको जंगलमा पुगेर रक्ताम्मे अवस्थामा टुङ्गिएको थियो। आमा तिलाका अनुसार घटनास्थलमा इनिशाको अवस्था निकै बीभत्स थियो; कपाल लुछिएको र लुगाफाटा छरपस्ट भएको अवस्थाले सामूहिक हिंसा भएको हुनसक्ने परिवारको दाबी छ।
हाल यस घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै सुर्खेत प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को समेत प्राविधिक सहयोग लिइरहेको छ। घटनास्थलबाटै पक्राउ परेका एक युवकसहित थप चार जनालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ। रगत परीक्षण र टेलिफोन संवादको विस्तृत रिपोर्ट आउन बाँकी रहेकाले अनुसन्धानलाई वैज्ञानिक ढंगले निष्कर्षमा पुर्याउने दाबी प्रहरी प्रमुख शाहीको छ। वीरेन्द्रनगरकाे एक निजी विद्यालयमा कक्षा ११ मा अध्ययनरत एक अबोध किशोरीको यसरी बीभत्स अन्त्य भएपछि सुर्खेत यतिबेला स्तब्ध छ र सबैको नजर अब प्रहरीको अन्तिम अनुसन्धान प्रतिवेदनमा अडिएको छ।
प्रतिक्रिया दिनुहोस्