यसपालिको चुनावमा हिमाली जिल्ला डोल्पामा निकै रोचक दृश्य देखियो । एउटै घरका दुई सहोदर दाजुभाइ फरक–फरक पार्टीबाट चुनावी मैदानमा उत्रिएपछि कसले बाजी मार्ला भन्ने कौतुहलता सबैमा थियो। तर, नतिजा भने भाइकै पक्षमा आयो। नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर बुढाले आफ्नै ठूलो दाइ कर्णबहादुर बुढालाई पराजित गर्दै डोल्पाबाट जितको ‘चौका’ हानेका छन्।

२०३१ सालमा सहरतारामा जन्मिएका धनबहादुरले ६ हजार ८ सय २ मत ल्याएर एमालेका लंकबहादुर रोकायलाई १ हजार ४ सय ६ मतान्तरले पछि पारे। कांग्रेसबाट उठेका उनका दाइ कर्णबहादुर भने २ हजार ९ सय ४७ मतका साथ तेस्रो स्थानमा सीमित भए। रास्वपा, राप्रपा र अन्य साना दलका उम्मेदवारहरूले भने यहाँ उल्लेख्य भोट पाउन सकेनन्।
यो जितसँगै धनबहादुर डोल्पाबाट लगातार चार पटक चुनाव जित्ने ‘अजेय’ नेता बनेका छन्। उनले यसअघि २०७०, २०७४ र २०७९ मा पनि डोल्पाको मन जितेर संसद् पुगिसकेका छन्। राप्रपादेखि शहरी विकास मन्त्रीसम्मको यात्रा धनबहादुरको राजनीतिक यात्रा राप्रपाबाट सुरु भएको हो। पछि २०७० मा एमाले प्रवेश गरेका उनी पार्टी फुटेपछि एकीकृत समाजवादीमा लागे र अहिले कम्युनिष्ट घटकहरू मिलेर बनेको नयाँ ‘नेपाली कम्युनिष्ट पार्टी’ बाट चुनाव जितेका हुन्। निर्माण व्यवसायमा समेत दख्खल राख्ने बुढाले जिल्ला विकास समिति डोल्पाको सभापतिदेखि केन्द्रमा पर्यटन राज्यमन्त्री र शहरी विकास मन्त्रीसम्मको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका छन्।

राजनीतिक दलहरू फेरिए पनि डोल्पाली जनताले धनबहादुरमाथिको विश्वास भने फेरेका छैनन्। आफ्नै दाइलाई प्रतिस्पर्धीका रूपमा पाएको यो चुनाव धनबहादुरका लागि व्यक्तिगत र राजनीतिक दुवै हिसाबले निकै चुनौतीपूर्ण र ऐतिहासिक बन्यो। अब चौथो पटक संसद् छिर्दै गर्दा डोल्पाको विकासलाई उनले कुन उचाइमा पुर्याउँछन्, त्यो त समयले नै बताउला।
प्रतिक्रिया दिनुहोस्