जुम्लाको एउटा पुरानो राजनीतिक चलन थियो— “जतिसुकै ठूलो नेता भए पनि एक पटकभन्दा बढी सांसद नदोहोर्याउने।” तर, राप्रपाका प्रखर नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले यसपालि त्यो ३५ वर्ष पुरानो इतिहासलाई धुलो चटाएका छन्। शनिबार सार्वजनिक नतिजा अनुसार शाहीले आफ्ना बलिया प्रतिद्वन्द्वी नेकपाका नरेश भण्डारीलाई ३ हजार १८१ मतान्तरले पराजित गर्दै लगातार दोस्रो पटक संसद्को यात्रा तय गरेका हुन्।
ज्ञानेन्द्रले १४ हजार ८ सय १६ मत ल्याउँदा, जुम्लामा ‘विकासका पर्याय’ मानिने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पहलकर्ता नरेश भण्डारी ११ हजार ६ सय ३५ मतमा रोकिए। २०४८ सालयता जुम्लाले कहिल्यै कुनै व्यक्तिलाई दोहोर्याएर जिताएको थिएन, तर यसपालि ज्ञानेन्द्रले त्यो ‘सिन्डिकेट’ भत्काइदिए।

सीए पढ्दापढ्दै भ्रष्टाचार विरोधी अभियन्ता, अनि माननीय सिंजा–३ पिंगी गाउँको सामान्य परिवारमा जन्मिएका ज्ञानेन्द्रको यात्रा निकै फिल्मी शैलीको छ। २०६२ मा एसएलसी पास गरेर भारतमा सीए पढ्न गएका उनी पढाइ बीचमै छाडेर भ्रष्टाचार विरुद्धको अभियानमा होमिए। हातमा सरकारी खर्चको हिसाबकिताब बोकेर ठूला नेतालाई र्याखर्याख्ती पार्ने उनको शैलीले उनलाई देशभरि चर्चित बनायो। अभियानकै क्रममा उनीमाथि चितवनमा मरणासन्न हुने गरी कुटपिट भयो, सुर्खेतमा प्रहरीले समातेर काठमाडौँ पुर्यायो, तर उनी झन् खरो भएर निस्किए।
२०७९ को चुनावमा कांग्रेस-माओवादीको बलियो गढलाई भत्काउँदै पहिलो पटक संसद् छिरेका शाहीले सदनमा कर्णालीका पीडा मात्र उठाएनन्, जुम्ली स्याउको ‘ब्रान्डिङ’ गर्न काठमाडौँका सडकमा आफैँ खटिए। उनको यही ‘भिजिबल’ कामले गर्दा जुम्ली जनताले यसपालि उनलाई फेरि अनुमोदन गरे।

सुर्खेत-२ छाडेर जुम्ला रोज्दाको परिणाम यसपालि ज्ञानेन्द्रलाई देशका ६ वटा निर्वाचन क्षेत्रबाट चुनाव लड्न अफर थियो। उनी सुर्खेत क्षेत्र नम्बर २ (हाम्रो सुर्खेत) बाटै लड्ने मुडमा थिए, तर अन्तिम समयमा उनले आफ्नै जन्मभूमि जुम्ला रोजे। उनका लागि यो लडाइँ सजिलो थिएन, किनकि अगाडि ‘नरेश भण्डारी’ जस्ता बौद्धिक र प्रभावशाली नेता थिए। तर, नेकपाभित्रको आन्तरिक किचलो र युवा पुस्तामा ज्ञानेन्द्रको ‘क्रेज’ ले गर्दा नरेश भण्डारीले इतिहास रच्ने मौका गुमाए र ज्ञानेन्द्रले ‘जुम्लाको शान’ कायम राखे।
३० वर्षको उमेरमा राप्रपाको प्रवक्ता र प्रमुख सचेतक जस्तो जिम्मेवारी सम्हालिसकेका शाही अब दोस्रो पटक संसद्मा झन् शक्तिशाली भएर छिर्ने भएका छन्। जुम्लाको इतिहास बदल्ने ज्ञानेन्द्रले अब जुम्लाको मुहार कति बदल्छन्, त्यो त हेर्न बाँकी नै छ।
प्रतिक्रिया दिनुहोस्