२०८३ वैशाख ५ , शनिबार
इनिसा मृत्यु प्रकरणमा नयाँ मोड

आफ्नै सहपाठी पक्राउ परेपछि साथीहरू नै सडकमा !



सुर्खेत। वीरेन्द्रनगरको उषा बालबाटिका स्कुलमा कक्षा ११ मा विज्ञान पढ्ने १६ वर्षीया इनिसा विकको शंकास्पद मृत्युले अहिले एउटा डरलाग्दो रूप लिएको छ। आफ्नै कक्षाका साथीहरू यो घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेपछि शुक्रबार बिहानैदेखि वीरेन्द्रनगरका विद्यार्थीहरू न्यायको माग गर्दै सडकमा उत्रिएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढथापाका अनुसार यो बीभत्स घटनामा संलग्न रहेको आरोपमा प्रहरीले इनिसाकै कक्षामा पढ्ने चार जना किशोरहरूलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाकै दिन २३ फागुनमा एक जनालाई र थप अनुसन्धानका क्रममा २४ गते अरू तीन जनालाई पक्राउ गरेको हो। सँगै पढ्ने र सँगै खेल्ने साथीहरू नै यस्तो जघन्य अपराधमा मुछिनुले समाज र शैक्षिक क्षेत्रलाई नै स्तब्ध बनाएको छ।

शुक्रबार बिहानै इनिसाका अन्य सहपाठीहरू विद्यालय परिसरबाटै र्‍याली निकाल्दै जिल्ला प्रहरी कार्यालयको गेटमा पुगेका छन्। ‘जस्टिस फर इनिसा’, ‘बलात्कारीलाई फाँसी दे’ र ‘हाम्रो साथीलाई न्याय दे’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका विद्यार्थीहरूले घटनाको निष्पक्ष र सूक्ष्म छानबिन गर्न माग गरेका छन्। “विज्ञान पढ्ने साथीको यस्तो हालत भयो, हामी अब कसलाई विश्वास गर्ने?” भन्दै विद्यार्थीहरूले आक्रोश पोखेका छन्।

गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसा २३ फागुन बिहान शहीद पार्क नजिकैको जङ्गलमा मृत फेला परेकी थिइन्। परिवारले सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै २५ फागुनमा किटानी उजुरी दिएपछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको हो। पक्राउ परेकाहरू नाबालक भए पनि उनीहरूमाथि कानुन अनुसार कडा कारबाही हुनुपर्ने र सत्यतथ्य छिटो बाहिर ल्याउनुपर्ने विद्यार्थीहरूको अडान छ।

प्रकाशित मिति : २०८२ फागुन २९ गते शुक्रबार