सुर्खेत। वीरेन्द्रनगरको जनजागरण सामुदायिक वनमा मृत भेटिएकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाले यतिबेला सिंगो सुर्खेत मात्र होइन, नागरिक समाज र बालअधिकारकर्मीहरूलाई समेत सडकमा ल्याएको छ। यो जघन्य अपराधको निष्पक्ष र सूक्ष्म छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न माग गर्दै यहाँका आधा दर्जन बढी संस्थाहरूले ऐक्यबद्धता जनाएका छन्।

बालअधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरूले शुक्रबार एउटा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यो घटनाले समग्र समाजलाई स्तब्ध बनाएको बताएका छन्। विज्ञप्तिमा भनिएको छ- “गुर्भाकोटबाट वीरेन्द्रनगर आएर पढ्दै गरेकी एक अबोध बालिकामाथि यस्तो हुनुले कर्णालीमा बालअधिकारको अवस्था कति असुरक्षित छ भन्ने छर्लङ्ग पारेको छ।” कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि भएको बलात्कार र सामाजिक सञ्जालमा आइरहेका यस्ता दुःखद खबरले नागरिक समाजलाई थप चिन्तित बनाएको छ।
नागरिक समाजले नेपाल प्रहरीलाई कुनै पनि दबाब वा प्रभावमा नपरी ‘स्वतन्त्र र सूक्ष्म’ अनुसन्धान गर्न आग्रह गरेको छ। “बालबालिकाको सुरक्षा र संरक्षण गर्नु राज्यको पहिलो दायित्व हो,” विज्ञप्तिमा स्मरण गराइएको छ, “बालबालिका सम्बन्धी ऐन २०७५ ले सबै तहका सरकारलाई जिम्मेवार बनाएको छ, त्यसैले यो घटनाको सत्यतथ्य छिटो बाहिर ल्याइयोस्।” राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले छोरीहरूको जन्मदर घट्दो देखाएको अवस्थामा, भएका छोरीहरू पनि यसरी अपराधको सिकार हुनुले भविष्यमा ठूलो संकट निम्त्याउने अधिकारकर्मीहरूको ठम्याइ छ।
प्रतिक्रिया दिनुहोस्