२०८३ वैशाख ६ , आइतबार
प्रशासनको कडा चेतावनी

ग्यास लुकाए वा बढी मूल्य लिए सिधै कारबाही !



सुर्खेत। वीरेन्द्रनगरका बजारमा खाना पकाउने ग्यासको अभाव देखाएर लुकाउने (होल्डिङ गर्ने) हरूलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतले कडा ‘रेड कार्ड’ देखाएको छ। बजारमा ग्यास पाउन छाडेको र व्यापारीहरूले गोदाममा सिलिन्डर थुपारेर राखेको गुनासो उपभोक्ताबाट आएपछि प्रशासनले शुक्रबार सूचना जारी गर्दै यस्तो नगर्न चेतावनी दिएको हो।

प्रशासनले ग्यास र पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन कडा निर्देशन दिएको छ। जारी सूचनामा स्पष्ट भनिएको छ— “यदि कसैले अनावश्यक रूपमा ग्यास सिलिन्डर थुपारेर राखेको, तोकिएको भन्दा बढी दाममा बेचेको वा नयाँ सिलिन्डरको अनाधिकृत रूपमा बजारीकरण गरेको भेटिएमा प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारबाही गरिनेछ।”

चाडपर्व वा कुनै बहानामा बजारमा कृत्रिम अभाव सिर्जना गरेर उपभोक्तालाई दुःख दिने व्यापारीहरू अब प्रशासनको निगरानीमा रहने भएका छन्।

प्रकाशित मिति : २०८२ फागुन २९ गते शुक्रबार