सुर्खेत। माघ २५ गते विपक्षी दलको अवरोधपछि ‘ब्रेक’ लागेको कर्णाली प्रदेश सभाको बैठक अब चैत ५ गते बस्ने भएको छ। प्रदेश सभा सचिवालयले शुक्रबार एक सूचना निकाल्दै झण्डै ४० दिनदेखि स्थगित भएको सदन फेरि सुचारु हुन लागेको जानकारी दिएको हो।
प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जारी गरेको सूचना अनुसार, दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्तर्गतको पाँचौँ बैठक आगामी चैत ५ गते बिहीबार दिनको ठ्याक्कै ३:०० बजे बस्ने गरी तय गरिएको छ।

माघ २५ गते आइतबार बसेको चौथो बैठकमा विपक्षी दलहरूले विभिन्न माग राख्दै नाराबाजी र अवरोध गरेपछि सभामुखले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए। चुनाव र राजनीतिक खिचातानीका कारण लामो समय ओझेलमा परेको प्रदेश सभा अब चैतको गर्मीसँगै फेरि तातिने देखिएको छ। सदन खुलेपछि रोकिएका विधेयक र विकासका मुद्दामाथि छलफल हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्