२०८३ वैशाख ७ , सोमबार
प्राेफाइल

सल्यानमा ‘लालकिल्ला’ जोगाउने रमेश : पूरा भयाे ३० वर्षदेखिकाे सपना



सल्यानको राजनीतिमा यसपटक एउटा रोचक भिडन्त देखियो। देशभर ‘घण्टी’को लहर चलिरहेका बेला नेकपाका उम्मेदवार रमेशकुमार मल्लले सबै चुनौतीलाई पन्छाउँदै सल्यानमा आफ्नो पार्टीको विरासत जोगाउन सफल भएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललितकुमार चन्दलाई २,२८५ मतान्तरले पराजित गरे।

२०५० सालमा १८ वर्षको उमेरदेखि अखिल क्रान्तिकारीबाट राजनीति सुरु गरेका मल्लको सांसद बनेर जिल्लाको सेवा गर्ने सपना ३० वर्षपछि बल्ल पूरा भएको छ। २०३५ सालमा कुमाख गाउँपालिकामा जन्मिएका मल्लको राजनीतिक यात्रा निकै संघर्षपूर्ण छ ।

 २०५४ मा माओवादीको पूर्णकालीन सदस्य बनेका उनले जनयुद्धका क्रममा सेती-महाकालीका विभिन्न जिल्लामा संगठनको जिम्मेवारी सम्हालेका थिए। २०७२ सालमा अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष बनेर उनले आफ्नो नेतृत्व क्षमता प्रमाणित गरिसकेका छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा उनको दोस्रो र तेस्रो कार्यकालमा स्वकीय सचिवको रूपमा काम गरेपछि मल्ल चर्चाको शिखरमा पुगेका थिए। त्यही अनुभवले उनलाई संसदीय राजनीतिमा होमिन ऊर्जा दियो।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका मल्लका लागि यो चुनाव फलामको च्युरा चपाउनु सरह थियो। देशभर रास्वपाको प्रभाव बढिरहेका बेला सल्यानमा आफ्नो गढ जोगाउनु चानचुने कुरा थिएन। निर्वाचित भएपछि मल्लले भनेका छन्— “देश घण्टीमय भएको बेला चुनाव जित्नु आफैँमा ठूलो चुनौती थियो। तर, सल्यानको भौगोलिक विकटता हटाउन र यहाँको समृद्धिका लागि मैले जनतासँग गरेका बाचाहरू पूरा गर्न कुनै कसर बाँकी राख्ने छैन।”

प्रकाशित मिति : २०८२ फागुन २९ गते शुक्रबार