२०८३ वैशाख ५ , शनिबार
ग्यास अभाव चर्किएपछि नयाँ नियम

आजदेखि उपभोक्ताले आधा सिलिण्डर मात्र पाउने



सुर्खेत । इरानमा बढ्दो द्वन्द्वका कारण पेट्रोलियम पदार्थको ढुवानीमा अवरोध आएपछि नेपालमा खाना पकाउने ग्यासको हाहाकार सुरु भएको छ। यही संकटलाई व्यवस्थापन गर्न नेपाल आयल निगमले भोलि (शुक्रबार) देखि बजारमा आधा सिलिन्डर (७.१ केजी) मात्रै ग्यास पठाउने निर्णय गरेको छ। आधा सिलिन्डरको मूल्य पनि साविकको भन्दा आधा नै कायम गरिएको छ।

इरान द्वन्द्वले गर्दा तेल बोक्ने जहाजहरूमा आक्रमण भइरहेकाले विश्वव्यापी आपूर्ति प्रणाली खलबलिएको छ। काठमाडौँ लगायत देशभरका ग्यास डिपोहरूमा उपभोक्ताको लामो लाइन छ। विडम्बना, धेरैजसो मानिस खाली सिलिन्डर लिएरै घर फर्किन बाध्य छन्। भारतमा ‘आधार कार्ड’ मार्फत घरेलु उपभोक्तालाई प्राथमिकता दिइएकाले त्यहाँ समस्या कम छ। तर, नेपालमा कमजोर व्यवस्थापन, कालोबजारी र उपभोक्ताले आवश्यकताभन्दा बढी सञ्चय गर्ने प्रवृत्तिका कारण संकट झनै गम्भीर बनेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताएका छन्।

सम्भव भएसम्म इन्डक्सन वा इन्फ्रारेड चुल्हो प्रयोग गरेर ग्यासको खपत घटाउनुहोस्। अनावश्यक रूपमा ग्यासका सिलिन्डर भरेर नराख्नुहोस्, जसले गर्दा अभाव झनै नबढोस्। बिजुलीका लागि जेनेरेटर नचलाउन र औद्योगिक क्षेत्रमा पनि इन्धनको प्रयोग कम गर्न अनुरोध गरिएको छ।  द्वन्द्व लम्बिएमा ग्यास मात्र नभई पेट्रोल र डिजेलको पनि अभाव हुन सक्ने देखिन्छ। भारतले डिजिटल प्रणालीबाट संकट टारे जस्तै नेपाल सरकारले पनि तत्काल सुधारात्मक कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

प्रकाशित मिति : २०८२ फागुन २९ गते शुक्रबार