२०८३ साउन १३ , बुधबार

खड्क : जसले जाेगाए मुगुमा कांग्रेसको ‘विरासत’



मुगुमा नेपाली कांग्रेसले आफ्नो साख जोगाउन सफल भएको छ। हालै सम्पन्न निर्वाचनमा नेकपा एमालेका पूर्णबहादुर रोकायालाई १,१९६ मतान्तरले पछि पार्दै कांग्रेसका खड्ग शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। शाहीले ७,९१४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी रोकायाले ६,७१८ मतमा चित्त बुझाउनु पर्यो।

खत्याड गाउँपालिकाका स्थायी बासिन्दा ५८ वर्षीय शाही मुगु कांग्रेसका पूर्व सभापति समेत हुन् । राजनीतिक सुरुवात: २०४६ सालको जनआन्दोलनबाट सक्रिय राजनीतिमा प्रवेश। सोही क्रममा उनी एक हप्ता जेलसमेत परेका थिए । २०५२ सालमा जिल्ला उपसभापति र २०७२ मा जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका उनी २०५२ देखि निरन्तर महाधिवेशन प्रतिनिधि रहँदै आएका छन् । उनले प्रवीणता प्रमाणपत्र तह (PCL) सम्मको शिक्षा हासिल गरेका छन्।

शाहीका लागि यो जित ‘मीठो बदला’ जस्तै बनेको छ। २०७४ को प्रदेशसभा निर्वाचनमा उनी एमालेका चन्द्रबहादुर शाहीसँग पराजित भएका थिए। तर, यसपटक उनले बाजी मारे। रोचक कुरा त के छ भने, उनलाई अघिल्लो पटक हराउने चन्द्रबहादुर शाही यसपालि नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बन्दै तेस्रो स्थानमा खुम्चिए। यसअघि मुगुलाई एमालेको बलियो गढ मानिन्थ्यो। तर, अघिल्लो निर्वाचनमा ऐनबहादुर शाहीले जितेपछि सुरु भएको कांग्रेसको यात्रालाई खड्ग शाहीले सफलतापूर्वक निरन्तरता दिएका छन्। निर्वाचित भएपछि शाहीले मुगुको विकासलाई राष्ट्रिय मूलप्रवाहमा जोड्ने प्रतिबद्धता जनाएका छन्। उनले आफ्ना प्राथमिकताहरू यसरी प्रष्ट पारेका छन् । “मुगु अझै पनि विकासमा पछि छ। सडक, शिक्षा, स्वास्थ्य र रोजगारी मेरो मुख्य प्राथमिकता हुनेछन्। जनताका समस्यालाई संसदमा जोडदार रूपमा उठाएर सरकारको ध्यानाकर्षण गराउनेछु।”

प्रकाशित मिति : २०८२ फागुन २९ गते शुक्रबार