२०८३ वैशाख ६ , आइतबार
इनिशाको न्याय माग्दै विद्यार्थी

कानुनका विद्यार्थीकाे प्रहरी कार्यालय अगाडि धर्ना



सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा कानुन (बीए.एलएलवी) अध्ययनरत विद्यार्थीहरूले १६ वर्षीया इनिशा विकको न्यायका लागि आन्दोलन चर्काएका छन्। सामूहिक बलात्कारपछि हत्या गरिएकी इनिशाका दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै विद्यार्थीहरूले बिहीबार जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडि धर्ना दिएका हुन्।

धर्नामा सहभागी विद्यार्थीहरूले पछिल्लो समय सामाजिक सञ्जालमार्फत मृतक इनिशाको चरित्रहत्या गर्ने प्रयास भइरहेको भन्दै तीव्र आक्रोश व्यक्त गरेका छन्। “घटनाको निष्पक्ष छानबिन हुनुपर्ने ठाउँमा उल्टै पीडितको मानमर्दन गरिनु निन्दनीय छ,” सहभागी एक विद्यार्थीले भने। कानुनका विद्यार्थी भएका नाताले समाजमा विधिको शासन र सबैले कानुनको पालना गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।

विद्यार्थीहरूका छोरीहरू समाजमा निर्धक्क भएर हिँड्न पाउने वातावरणको ग्यारेन्टी गरिनुपर्ने,  न्याय सम्पादन प्रक्रियामा कुनै पनि राजनीतिक वा बाह्य दबाब र त्रुटि हुन नहुने र इनिशाले न्याय नपाउन्जेलसम्म आन्दोलन र संघर्ष जारी राख्ने प्रतिबद्धता जनाएका छन्र ।

धर्नाका क्रममा विद्यार्थी टोलीले प्रहरी प्रशासनसँग छलफल समेत गरेको थियो। प्रहरीले अनुसन्धान सकारात्मक दिशामा अघि बढिरहेको र दोषीलाई उम्किन नदिने आश्वासन दिएपछि विद्यार्थीहरूले न्यायका लागि अन्तिमसम्म सहयोग गर्न आग्रह गरेका छन्। गएको शनिबार वीरेन्द्रनगरस्थित शहीद पार्क नजिकैको सामुदायिक वनमा १६ वर्षीया इनिशा विकको सामूहिक बलात्कारपछि बीभत्स हत्या भएको थियो। यो घटनाले यतिबेला सुर्खेतसहित देशभरका नागरिकलाई स्तब्ध र आक्रोशित बनाएको छ।

प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार