२०८३ साउन १३ , बुधबार
प्राेफाइल

बसना जसले १२ वर्षपछि कम्युनिस्ट गढमा बालिन् कांग्रेसले दियो



दैलेख। दैलेख क्षेत्र नम्बर १ मा यसपालि एउटा यस्तो सुखद ‘सरप्राइज’ देखिएको छ, जसले कांग्रेस कार्यकर्तामा नयाँ ऊर्जा थपिदिएको छ। २०७० सालको चुनावपछि सधैँ हलो र हँसिया हथौडामा भोट हाल्न बाध्य कांग्रेसका कार्यकर्ताले यसपालि आफ्नै चुनाव चिह्न ‘रुख’ मा भोट हाल्न मात्रै पाएनन्, १२ वर्षपछि यो क्षेत्रमा कम्युनिस्टको गढ भत्काउँदै बासना थापालाई विजयी गराएरै छाडे।

बिहीबार सम्पन्न निर्वाचनमा थापाले १२ हजार ३ सय ७२ मत ल्याएर जितको झण्डा फहराइन्। उनले एमालेका पाका नेता रवीन्द्रराज शर्मालाई ५ सय ७६ मतान्तरले पराजित गरेकी हुन्। रोचक कुरा त के छ भने, २०७० देखि लगातार जित्दै आएका ‘विजेता’ नेता अम्मरबहादुर थापा त यसपालि जम्मा ४ हजार २ सय ५६ मतमा खुम्चिएर चौथो स्थानमा पुगे। देशभरि रास्वपाको लहर चल्दा पनि पुराना दलहरूबाट प्रत्यक्षतर्फ चुनाव जित्ने बासना कर्णालीकै एक्ली महिला सांसद समेत बनेकी छन्।

यो जित कांग्रेसका लागि सामान्य बदला मात्र होइन। २०४८ देखि २०६४ सम्म कांग्रेसका गणेशबहादुर खड्काको एकछत्र ‘राज’ रहेको यो क्षेत्रमा २०७० मा अम्मर थापाले कम्युनिस्ट झण्डा फहराएका थिए। त्यसपछि कहिले राप्रपा त कहिले माओवादीसँगको गठबन्धनका कारण कांग्रेसले यहाँ उम्मेदवारै उठाएको थिएन। तर, १२ वर्षपछि मैदानमा उत्रिएकी बासनाले पुरानो विरासत मात्र फर्काइनन्, २०७४ को स्थानीय तहमा उपमेयर हार्दाको चोटमा समेत मलम लगाइन्।

२०३७ सालमा काठमाडौँमा जन्मिएर २०५७ देखि विद्यार्थी राजनीतिबाट खारिएकी बासना दैलेखकी स्थापित होटल व्यवसायी र समाजसेवी पनि हुन्। समाजशास्त्रमा स्नातकोत्तर गरेकी उनले राजनीतिमा धेरै हण्डर खाएकी छन्। कांग्रेसको १४औँ महाधिवेशनमा शेखर कोइराला समूहबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिँदा पराजित भएकी उनी, पार्टीभित्र गगन थापा र विश्वप्रकाश शर्माले ल्याएको ‘विशेष महाधिवेशन’ को एजेण्डामा पनि खुलेर लागेकी थिइन्।

हिजोसम्म पाका र अनुभवी नेताहरूले मात्रै ‘राज’ गर्ने भनिएको दैलेख–१ मा यसपालि मतदाताले नयाँ अनुहार र जोसिलो नेतृत्व खोजेको प्रष्टै देखियो। नारायण नगरपालिकाकी स्थायी बासिन्दा बासनाको यो जितले दैलेखको राजनीतिमा महिला नेतृत्वको नयाँ ढोका खोलिदिएको छ।

प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार