२०८३ वैशाख ५ , शनिबार
प्राेफाइल

महेन्द्रले पाएकाे माैका : मुख्यमन्त्री बनेर इतिहास रछे, संघीय संसदमा ह्याट्रिक



कालिकोट। कालिकोटको राजनीतिमा एउटा उखानै थियो- “यहाँ कसैको पनि दिन दोहोरिँदैन।” तर, नानीकोटको दुर्गम गाउँ कोटिलामा जन्मिएका ४९ वर्षीय महेन्द्रबहादुर शाहीले यो उखानलाई गलत साबित गरिदिएका छन्। यसअघि पञ्चायत कालमा धर्मदत्त उपाध्यायले तीन पटक जितेर बनाएको रेकर्डलाई तोड्दै महेन्द्रले लगातार चौथो पटक चुनाव जितेर कालिकोटमा नयाँ इतिहास रचेका हुन्।

२०४८ देखि २०६४ सम्म कालिकोटमा हरेक चुनावमा नयाँ अनुहार आउने चलन थियो। कांग्रेसका तिलक न्यौपाने, एमालेका यज्ञराज र प्रेमबहादुर सिंहदेखि माओवादीका ‘प्रकाण्ड’ सम्मले एक–एक पटक मात्रै जित्ने अवसर पाए। तर, २०७० पछि भने कालिकोटको राजनीति महेन्द्रकै वरिपरि घुमिरहेको छ। २०७० को संविधानसभा, २०७४ को प्रदेशसभा, २०७९ को प्रतिनिधिसभा र अहिलेको यो ताजा निर्वाचनमा पनि उनले बाजी मारेका छन्। यसपटक उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका नगिन्द्र शाहीलाई ९ सय ८६ मतान्तरले पछि पार्दै ११ हजार ३ सय ३८ मतका साथ विजयको झण्डा फहराए।

कक्षा ८ पढ्दै गर्दा समाजको अन्याय र थिचोमिचो देखेर राजनीतिमा होमिएका महेन्द्रको यात्रा निकै सङ्घर्षपूर्ण छ। २०५२ सालमा जनयुद्ध सुरु भएपछि भूमिगत भएका उनी माओवादीको जनमुक्ति सेनामा साधारण लडाकुदेखि डिभिजन कमाण्डर हुनेसम्मको अदम्य साहस बोकेका नेता हुन्। पार्टीका ‘हेभीवेट’ नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले २०६९ मा पार्टी छोडेपछि कालिकोट माओवादीको कमाण्ड सम्हालेका महेन्द्रले त्यसयता कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन।

उनी केवल लडाकु मात्र होइन, सफल ‘भाग्यमानी’ नेता पनि हुन्। संघीय सरकारको ऊर्जा मन्त्रीदेखि कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्रीसम्म बन्ने अवसर उनले पाए। तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएर चर्चामा आएका महेन्द्रलाई आफ्ना कार्यकर्ता रिझाउन जान्ने र सामूहिक सहकार्यमा विश्वास गर्ने नेताका रूपमा चिनिन्छ।

यसपालिको चुनाव जितेपछि महेन्द्रले कालिकोटका अधुरा योजना पूरा गर्ने कसम खाएका छन्। कर्णाली राजमार्गको सुधार, फुगाड जलविद्युत आयोजना, कोटवाडा विमानस्थलको पूर्ण सञ्चालन र गाउँ-गाउँमा बिजुली पुर्‍याउने उनको मुख्य एजेण्डा छ। निर्वाचन जितेपछि उनलाई बधाई दिँदै प्रतिस्पर्धी नगिन्द्र शाहीले पनि जिल्लाको विकासका लागि सहकार्य गर्ने बताएका छन्। कालिकोटको विकट बस्तीबाट उठेको एउटा ठिटो आज चौथो पटक संसद्को यात्रा तय गर्दा, समग्र कालिकोटले नै उनीबाट ठूलो आशा राखेको छ।

प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार